२३ बैशाख २०८३, बुधबार

पेट्रोल पम्पजस्तै अब चार्जिङ स्टेसन : ५ मिनेटमा ४०० किमि रेन्ज, चिनियाँ विद्युतीय सवारीको यात्रा अब ‘एन्जाइटी’ मुक्त

बेइजिङ । चीनमा विद्युतीय सवारी (एनईभी) ले लामो दूरीको यात्रामा पेट्रोल गाडीलाई टक्कर दिन थालेको छ। यसपटकको पाँचदिने मे दिवस बिदामा दक्षिणपश्चिम चीनबाट उत्तरतर्फ करिब एक हजार किलोमिटरको यात्रामा निस्केका ली डोङशेङलाई पहिलेजस्तो ‘रेन्ज एन्जाइटी’ (चार्ज सकिने चिन्ता) ले सताएन।

शान्सी प्रान्तको फुपिङ सेवा क्षेत्रमा उनको गाडीले जम्मा १० मिनेटको चार्जमै ४०० किलोमिटरको रेन्ज प्राप्त गर्यो। लीले भने, “एक्सप्रेस वेमा चार्जिङ पाइलहरूको संख्या बढेसँगै लामो दूरीको यात्रामा अब कुनै चिन्ता छैन।”

चीन इलेक्ट्रिसिटी काउन्सिलका उपमहासचिव ल्यु योङ्दोङका अनुसार प्रविधिको परिपक्वता र चार्जिङ पूर्वाधारको निरन्तर विस्तारले विद्युतीय सवारीले ‘छोटो दूरीको सवारी’ को परिचयपत्र फाल्न सफल भएको छ। राष्ट्रिय ऊर्जा प्रशासनको तथ्यांक अनुसार मे दिवसको पहिलो दिन राजमार्गहरूमा विद्युतीय सवारी चार्जिङको मात्रा गत वर्षको तुलनामा ५५.६ प्रतिशतले उकालो लागेर नयाँ कीर्तिमान कायम भएको छ।

उत्तर, दक्षिण र पश्चिम चीन जोड्ने प्रमुख केन्द्र फुपिङ सेवा क्षेत्रमा अहिले २८ वटा चार्जिङ पाइल र दुईवटा ब्याट्री स्वाप स्टेसन जडान गरिएको छ। बिदाका बेला ६ जना प्राविधिक २४ सै घण्टा ड्युटीमा खटिएका थिए। सेवा क्षेत्रका प्रबन्धक गाओ लिपेङका अनुसार डिजिटल नक्सामा कुन स्टेसनमा कति चार्जर खाली छ भनेर प्रत्यक्ष हेर्न सकिन्छ।

बीवाइडीले यसै वर्ष ल्याएको नयाँ ब्याट्री प्रविधिले सामान्य तापक्रममा १० प्रतिशतबाट ७० प्रतिशत चार्ज हुन जम्मा ५ मिनेट र ९७ प्रतिशत पुग्न ९ मिनेट मात्र लाग्ने दाबी गरेको छ। उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार पछिल्लो पाँच वर्षमा चिनियाँ विद्युतीय यात्रुवाहक सवारीको औसत रेन्ज ५ सय किलोमिटर नजिक पुगेको छ भने चार्जिङ गति तीन गुणाले बढेको छ।

हाल चीनभर २ करोड १० लाखभन्दा बढी चार्जिङ पाइल स्थापना भइसकेका छन्। १९ वटा प्रान्तले सबै गाउँपालिका स्तरसम्म चार्जिङ पाइल पुर्याइसकेको सरकारी तथ्यांक छ। सांघाईको फेङजिङ सेवा क्षेत्रमा ५ मिनेटमै २०० किलोमिटर रेन्ज दिन सक्ने चार्जर जडान गरिएको छ भने मोबाइल चार्जिङ पाइल र आपतकालीन चार्जिङ सवारी साधन पनि तैनाथ छन्।

सांघाईमा मात्र २६ वटा एक्सप्रेस वे चार्जिङ स्टेसनमा १७३ पाइल छन्। मे दिवसको पहिलो दुई दिनमा सहरका राजमार्गमा चार्जिङ खपत १ लाख ६७ हजार ५ सय किलोवाट घन्टा पुगेर वार्षिक २५.८२ प्रतिशतको वृद्धिसहित नयाँ कीर्तिमान बन्यो। केन्द्रीय हुनान प्रान्तको सिनआन क्षेत्रमा त भारी ट्रकका लागि समर्पित चार्जिङ स्टेसन नै सञ्चालनमा आएको छ। ट्रक चालक झाइ बोले भने, “बिदाको बेला लाइन र बिग्रिएका चार्जर सबैभन्दा ठूलो डर हो। तर स्टेसनमा कामदारले नियमित जाँच गरेको देख्दा ढुक्क लाग्छ।” पूर्वाधारको यो विस्तार र प्राविधिक स्तरोन्नतिसँगै चीनका करोडौं विद्युतीय सवारी चालकका लागि चार्जिङ चिन्ता विस्तारै अतीतको कुरा बन्दै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button