बेइजिङमा चिनियाँ–इरानी विदेशमन्त्री वार्ता, क्षेत्रीय तनाव र आणविक मुद्दामा केन्द्रित छलफल

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीबीच बुधबार बेइजिङमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक ब्यूरो सदस्यसमेत रहेका वाङ यीले इरानी समकक्षी अराघ्चीलाई चीनको राजधानीमा स्वागत गरेका थिए। भेटवार्तापश्चात जारी आधिकारिक जानकारीअनुसार दुई पक्षले द्विपक्षीय सम्बन्ध, पारस्परिक हितका विषय तथा क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन छलफल गरेका छन्।

वार्तामा पश्चिम एसियामा जारी तनाव, इरानी आणविक सम्झौता पुनरुत्थानको प्रयास र एकपक्षीय प्रतिबन्धहरूको प्रभावजस्ता संवेदनशील विषय प्रमुखताका साथ उठेको बुझिएको छ। दुवै पक्षले कूटनीतिक संवाद र बहुपक्षीयताप्रति प्रतिबद्धता दोहोर्याएका छन्।
यो उच्चस्तरीय भेट यस्तो समयमा भएको छ, जतिबेला अमेरिकी प्रतिबन्ध, क्षेत्रीय अस्थिरता र आणविक सम्झौताको भविष्यलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको छ। चीन र इरानबीच लामो समयदेखि आर्थिक तथा रणनीतिक सहकार्य कायम छ।





