‘सडक, पुल, बाँधदेखि विद्युत गृहसम्म’, सुडानी शासक परिषदका सदस्यले भने– चीनसँगको सम्बन्ध ‘गहिरो जरा’ जस्तो

पोर्ट सुडान । सुडान र चीनबीचको सम्बन्ध रणनीतिक साझेदारी र पारस्परिक लाभमा आधारित ‘गहिरो जरा’ भएको सम्बन्ध भएको सुडानको संक्रमणकालीन सार्वभौम परिषदका सदस्य अब्दुल्लाह याह्याले बताएका छन्।
पूर्वी सुडानको सहर पोर्ट सुडानमा सोमबार आयोजित ‘थ्याङ्क यू, चाइना’ कार्यक्रमलाई सम्बोधन गर्दै याह्याले सुडानको पूर्वाधार विकासमा चीनको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे। विशेषगरी सडक, पुल, बाँध र विद्युत गृहको विकासमा चीनको भूमिकालाई उनले रेखाङ्कन गरे।
उनले चिनियाँ कम्पनी र वित्तीय संस्थाहरूलाई सुडानी पक्षसँग लगानी र साझेदारी विस्तार गर्न आह्वान गर्दै सुडान सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
सुडानका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत सु जियानले उक्त कार्यक्रमलाई चीन–अफ्रिका जनस्तरीय आदानप्रदान वर्षको महत्त्वपूर्ण उपलब्धि भन्दै द्विपक्षीय मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सुडानी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र चिनियाँ समुदायका सदस्य गरी करिब ४०० जनाको उपस्थिति थियो। सो अवसरमा सुडान–चीन सम्बन्ध र द्विपक्षीय सहयोग झल्कने प्रदर्शनीको समेत आयोजना गरिएको थियो।





