२३ बैशाख २०८३, बुधबार

सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्यो : बालेन नेतृत्वको संवैधानिक परिषद बैठक बिहीबार डाकियो

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाएका छन्। संवैधानिक परिषद्को बैठक यही बिहीबारका लागि आह्वान गरिएको छ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा परिषद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने जनाएको छ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको सचिवालयले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार परिषद्मा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवीकुमारी सदस्य रहनेछन्।

प्रधानन्यायाधीश स्वयं परिषद्को पदेन सदस्य भए पनि प्रधानन्यायाधीशकै नियुक्तिसम्बन्धी एजेन्डामा भने उनको स्थानमा कानुन मन्त्रीले प्रतिनिधित्व गर्ने प्रचलन छ। सोहीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम बैठकमा सहभागी हुनेछिन्। सबै सदस्यलाई आमन्त्रण गरिसकिएको सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button