२३ बैशाख २०८३, बुधबार

पूर्वपदाधिकारीको दोहोरो सुविधामा बालेनको चासो, सवारी विवरण आजै पठाउन गृहलाई ताकेता

काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरूले राज्यकोषबाट कानुनले तोकेभन्दा बढी र दोहोरो सुविधा लिइरहेको तथ्य खुलासा भएपछि सरकार सक्रिय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रिय सभा अध्यक्षहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण बुधबार नै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयको पछिल्लो अध्ययनले केही पूर्वपदाधिकारीले मापदण्डभन्दा बढी सवारी प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको देखाएपछि गृहसँग स्पष्ट विवरण माग गरिएको हो। कार्यालय समयभित्रै इमेलमार्फत पूर्ण विवरण पठाउन ताकेता गरिएको पत्रमा उल्लेख छ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन्। “कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो,” उनले भनिन्।

लामो समयदेखि पूर्वपदाधिकारीहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधन प्रयोग गरिरहेको आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो। गृहबाट प्राप्त विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी रहेको स्रोतले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button