२३ बैशाख २०८३, बुधबार

११ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालयसम्म फेरिए जिम्मेवारी

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको हो ।

निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् ।

गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई मुस्लिम आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयकी सहसचिव कृष्णकुमारी श्रेष्ठलाई उद्योग मन्त्रालय तथा युवा र खेलकुद मन्त्रालयमा काजमा रहेका सहसचिव रमेश ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

त्यसैगरी अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुस्लिम आयोगका सहसचिव रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोग र सङ्घीय मामिला मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा रहेका सहसचिव सन्तोषकुमार दाहाललाई राष्ट्रपति कार्यालय सरुवा भएको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालय र सञ्चार मन्त्रालयका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button