सरकारी कर्मचारीका आठ ट्रेड युनियन खारेज, राजनीतिक निकटताको आरोप

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका राष्ट्रियस्तरका ट्रेड युनियनहरू खारेज गरेको छ । ती युनियनमाथि राजनीतिक दल निकट रहेको आरोप लाग्दै आएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबारको निर्णयअनुसार ती ट्रेड युनियन खारेज गरेको जनाएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०७’ को आधारमा पञ्जिकाधिकारीको निर्णयबाट यसअघि दर्ता भई क्रियाशील रहेका निजामती कर्मचारी तथा स्वास्थ्य सेवाका ट्रेड युनियन खारेज गरिएको विभागले जनाएको छ ।
खारेज गरिएका युनियनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन नेपाल रहेका छन् ।
त्यस्तै, नेपाल स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन पनि खारेजीमा परेका छन् ।
विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले जारी गरेको सूचनामा उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको उल्लेख छ ।





