‘लिपुलेक मात्र होइन, ७१ स्थानमा भारतीय अतिक्रमण’, चीन अध्ययन केन्द्रका अध्यक्ष रेग्मीको टिप्पणी– सुगौलीदेखिको भूभाग माग्नुपर्छ

काठमाडौँ । चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले नेपालको ७१ सीमा क्षेत्रमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो विचारमा उनले अंग्रेजकालीन नक्सा र २०३२ सालमा तत्कालीन श्री ५ को सरकारले जारी गरेको नक्सा मिलाएर हेर्दा नेपालको कुन–कुन भूभाग गायब गरिएको छ भन्ने स्पष्ट हुने उल्लेख गरेका छन्।
रेग्मीले लिपुलेक र लिम्पियाधुराको विषयमा मात्र सीमित हुनेहरूलाई सबैतिर हेर्न आग्रह गर्दै केपी ओली सरकारले प्रकाशित गरेको नक्सामा २०३२ सालको नक्साबाट हटाइएका ती दुई स्थान मात्र समावेश गरिएको तर अन्य भूभाग समेट्न नसकिएको बताएका छन्। “त्यो पनि नेपालले नक्साबाट फालेर भारतले कब्जा गरेको ५० वर्षपछि नेपालले नक्सामा राखेर दाबी गरेपछि,” उनले भनेका छन्।
अध्यक्ष रेग्मीले नेपालले अधिकार माग्ने हो भने सुगौली सन्धिबाट गुमेको सबै भूभाग माग्नुपर्ने र सन् १९५० मा बेलायतसँग भएको सन्धिबाट पनि ती भूभाग आफ्नै हुने तर्क गरेका छन्। उनले कम्तीमा संयुक्त राष्ट्र संघमा लगेर नेपालले दाबी गर्न सक्नुपर्ने बताएका छन्। “शान्ति क्षेत्रको प्रस्तावलाई ११९ देशले समर्थन गर्दा पनि संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गर्न नसक्नेले केका लागि समर्थन प्राप्त गरेको? भारतले नाकाबन्दी गर्दा पनि भारतले नाकाबन्दी गर्यो भन्न नसक्ने, यस्ता कातर र भारत रिसाउला भनेर छेर्ने शासकहरूको देशलाई कसले पत्याउँछ?” रेग्मीले प्रश्न गरेका छन्।
उनले जंगबहादुरले बेलायतका युवराजलाई सिकार खेलाएको बनबासा (शुक्लाफाँट) र चन्द्रशमशेरले सिकार खेलाउन लगेको ठोरीको जंगल र पहाड अहिले नेपालमा नरहेको स्मरण गराएका छन्। २०३२ सालको नक्साबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी हटाइएको उल्लेख गर्दै अरू कुन भूभाग गायब छन् भनेर हेर्न पनि उनले आग्रह गरेका छन्।
रेग्मीले नेपाली सेनालाई अहिले समर्थन गर्नुपर्नेमा जोड दिँदै विगतका कुरा छोड्न र राष्ट्रलाई बाहिरबाट खतरा रहेकोप्रति सचेत रहन आह्वान गरेका छन्।




