२४ बैशाख २०८३, बिहीबार

मुक्तिनाथमा वैशाखमै आठौं हिमपात, स्याउ फूल जोगाउन कृषक चिन्तित

मुस्ताङ । हिउँद सकिएर गर्मीयाम सुरु भइसकेको मुस्ताङमा बुधबार पुनः हिमपात भएको छ। वारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ क्षेत्रमा एक घण्टाभन्दा बढी समयसम्म आंशिक हिउँ परेको हो।

मुक्तिनाथस्थित हाइ अल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीका अनुसार हिमपातपछि आसपासका नाँगा डाँडाकाँडा सेताम्मे भएका छन्। योसँगै यस वर्ष मुक्तिनाथ क्षेत्रमा आठौँ पटक हिमपात भएको छ, जसलाई स्थानीय जानकारहरूले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन्।

यसबीच हिउँदयामको बिदाइ र बर्खायामको स्वागतमा मनाइने ‘धछ्याङ’ पर्व पनि यस क्षेत्रका खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा सम्पन्न भइसकेको छ। वसन्त ऋतुमा पालुवा पलाउने र मौसम गुल्जार हुने समयमा बेमौसमी हिमपात हुनु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए। उनले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट हुने चिन्ता बढेको उल्लेख गरे।

खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले यस वर्ष हिउँदमा पटक–पटक हिउँ परे पनि वैशाख महिनामा हिमपात हुनु अनौठो भएको बताए। उनका अनुसार हिउँदयामको हिमपात कृषकका लागि लाभदायक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन दुवै क्षेत्रमा असर पुर्याउने छ।

हाल मुस्ताङ भ्रमणको अनुकूल याम चलिरहेकामा यो हिमपातले मुक्तिनाथ दर्शनमा जाने भक्तजनलाई भने केही असहज बनाएको स्वास्थ्यकर्मी घर्तीले बताए। यद्यपि, हिउँदको चिसो र हिउँ पर्ने क्रम टरिसकेको अवस्थामा हालको यामलाई मुस्ताङ भ्रमणका लागि उपयुक्त मानिँदै आएको पर्यटन व्यवसायीहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button