साढे चार लाख प्रतिष्ठान गणनामा सामेल, ३२ प्रतिशत काम सकियो : बाँकी व्यवसायीलाई सहभागिताको आह्वान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मुलुकभर जारी आर्थिक गणनामा सबै व्यावसायिक प्रतिष्ठानलाई अनिवार्य सहभागिताका लागि आह्वान गरेको छ। कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै संस्थालाई गणना प्रक्रियामा सामेल हुन आग्रह गरेका छन्।
मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र नीति निर्माणको आधार प्रदान गर्ने उद्देश्यले वैशाख २ गतेदेखि सुरु भएको गणना असार ७ गतेसम्म जारी रहने छ। गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीजस्ता वित्तीय संस्था र व्यापारसम्बन्धी प्रतिष्ठानको तथ्याङ्क संकलन भइरहेको छ।
निर्देशक ढकालका अनुसार व्यावसायिक रूपमा दर्ता भएका करिब चार लाख ८० हजार प्रतिष्ठान हालसम्म गणनामा समावेश भइसकेका छन्। वैशाख २२ गतेसम्म देशभर ३२ प्रतिशत गणना सम्पन्न भएको उनले जानकारी दिए। यसअघि २०७५ सालमा पहिलोपटक गणना भएकामा यो दोस्रो हो। देशको वास्तविक आर्थिक अवस्था मापन गर्ने लक्ष्य राखिएको गणनाका लागि तीन हजार ९०६ गणक र ५२६ सुपरिवेक्षक खटिएका छन्।
सात हजार ४५३ प्रतिष्ठानले आफैं अनलाइनमार्फत विवरण भर्ने प्रतिबद्धता जनाएकामा हालसम्म एक हजार ६१५ ले विवरण भरिसकेको कार्यालयले जनाएको छ। गणनालाई विश्वसनीय बनाउन प्रदेशमा प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ भने वडास्तरमा समेत समिति बनाइएको निर्देशक ढकालले बताए।





