२४ बैशाख २०८३, बिहीबार

हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने, काठमाडौंमा हस्तान्तरणपछि मात्र खुल्ने

हुम्ला । चीनले नेपाल–चीन सीमास्थित हिल्सामा निर्माण गरेको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ। दुई देशका सीमा क्षेत्र जोडिएका जिल्लाका प्रतिनिधिहरूबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले उक्त जानकारी गराएको हो।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार कार्यस्थलमा आधारित सूचना आदानप्रदान कार्यक्रमअन्तर्गत पुल निर्माण स्थलमै दुवै पक्षका प्रतिनिधिबीच छलफल भएको थियो। सो क्रममा चिनियाँ पक्षले पहिले काठमाडौंमा चीन सरकारले नेपाल सरकारलाई पुल हस्तान्तरण गर्ने र नेपाल सरकारले बुझ्ने कार्यक्रम हुने जानकारी गराएको थियो। सो औपचारिक हस्तान्तरणपछि मात्र दुवै देशको सहमतिमा पुल सञ्चालनको प्रक्रिया अगाडि बढ्ने छ।

चीनले पुलसँगै नेपालतर्फको पिलरदेखि करिब साढे तीन सय मिटर कालोपत्रे सडकसमेत निर्माण गरिसकेको छ। चिनियाँ पक्षले आफ्नोतर्फको प्रवेशद्वार बनाइसकेको भए पनि नेपालतर्फको प्रवेशद्वार निर्माण बाँकी नै छ।

प्रजिअ रेग्मीका अनुसार उक्त पुल नेपाल सरकार र चिनियाँ सरकारबीचको बेइजिङ सम्झौताको दफा ६ बमोजिम चीन सरकारले निर्माण गरेको हो। छलफलमा सीमा सुरक्षा र दुई देशविरुद्ध हुनसक्ने गतिविधि रोक्ने विषयमा पनि कुराकानी भएको थियो, जसमा दुवै पक्ष त्यस्ता गतिविधि हुन नदिन कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button