२४ बैशाख २०८३, बिहीबार

‘मुलुकलाई युक्रेन बनाउने खतरा’, नेकपा नेता गुरुङको चेतावनी– सबै देशभक्त शक्ति एक हुनुपर्छ

काठमाडौँ । नेकपाका नेता एवं पूर्वमाओवादी नेता देव गुरुङले मुलुकलाई युक्रेन बनाउने गरी विदेशी शक्ति सक्रिय भएको चेतावनी दिएका छन्। करिब दुई दर्जन कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाको आगामी महाधिवेशन, वाम ध्रुवीकरण र पछिल्लो राष्ट्रिय राजनीतिबारे केन्द्रित रहेर दिएको अन्तर्वार्तामा उनले नेपालको भूराजनीति गम्भीर मोडमा पुगेको बताएका हुन्।

“दोस्रो विश्वयुद्धपछिको मुख्य निशाना नेपाललाई युक्रेन बनाउन उद्यत देखिन्छ,” गुरुङले भने, “मुस्ताङको युरेनियम अष्ट्रेलियन र अमेरिकन कम्पनीलाई उत्खनन गर्न दिने चर्चा त्यसकै उपज हो। विदेशी अधिकारी तारन्तार नेपाल आइरहेका छन्, उनीहरूसँगको छलफल गोप्य राखिएको छ। यसले नेपाललाई भूराजनीतिक क्रिडास्थल बनाउन खोजेको देखिन्छ।”

मंसिरमा एकता महाधिवेशन

नेता गुरुङले नेकपाले आगामी मंसिरमा एकता महाधिवेशन गर्ने तयारी गरेको जानकारी दिए। “अहिले भएको एकतालाई व्यवस्थित गर्दै वैचारिक, राजनीतिक दृष्टिकोण स्पष्ट पार्न अधिवेशन गर्न लागेका छौँ,” उनले भने। एमालेसँग एकताका लागि तत्काल गृहकार्य नभए पनि पार्टीले नीतिगत रूपमा वाम ध्रुवीकरणको निर्णय गरिसकेको उनले बताए।

निर्वाचन परिणाम ‘योजनाबद्ध’ को आरोप

गुरुङले पछिल्लो निर्वाचन परिणामप्रति गम्भीर प्रश्न उठाउँदै त्यो योजनाबद्ध रूपमा आएको आरोप लगाए। “जेनजी आन्दोलनपछि संसद् विघटन गरेर मुलुकमा संकटकाल लगाउने कार्य गर्न खोजिएको थियो। निर्वाचन प्रायोजकले जे चाहेका थिए, त्यस्तै भयो,” उनले भने।

सरकारप्रति कडा आलोचना

वर्तमान सरकारले सुशासनको आवरणमा राजनीतिक प्रतिशोध लिन खोजेको, अध्यादेशको बाढी ल्याएर प्रजातन्त्रलाई कमजोर बनाएको र सुकुम्बासी विस्थापनलाई तीव्रता दिएर द्वन्द्व सिर्जना गर्न खोजेको गुरुङको आरोप छ। “एकैपटक देशव्यापी रूपमा डोजर आतंक चलाइएको छ, यसले विदेशी शक्तिको सैन्य गतिविधिलाई प्रश्रय दिन खोजिएको हो,” उनले भने।

‘सबै देशभक्त शक्ति एक हुनुपर्छ’

गुरुङले वर्तमान अवस्थामा वामपन्थी मात्र नभई सबै देशभक्त शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए। “विश्व साम्राज्यवाद एकातिर छ भने अर्कोतिर उत्पीडित जनता र कम्युनिष्ट पार्टी छन्। मुलुकको सार्वभौमिकतामाथि भयावह संकट आउनेवाला छ, यसलाई गम्भीरतापूर्वक लिएर मुलुक जोगाउन सबै देशभक्त शक्ति एकताबद्ध हुनुको विकल्प छैन,” उनले भने।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहसबारे गुरुङले त्यो विपक्षी वर्गले आन्दोलन कमजोर बनाउन सिर्जना गरेको विवाद भएको दाबी गरे। “विगतको घटनाक्रम हेर्दा जनता पार्टीमा केन्द्रित हुँदै आएकाले त्यो विस्थापन गर्न नेतृत्वमाथि प्रश्न उठाउन थालिएको छ,” उनले भनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button