चीन अध्ययनमा स्नातकोत्तर गर्ने अवसर : अन्तर्राष्ट्रिय विद्यार्थीका लागि रेन्मिन विश्वविद्यालयमा आवेदन खुल्यो

काठमाडौँ । चीनको प्रतिष्ठित रेन्मिन विश्वविद्यालयअन्तर्गतको सिल्क रोड स्कूल (हाल ग्लोबल लिडरसिप स्कूल) ले सन् २०२६ का लागि ‘मास्टर अफ कन्टेम्पोररी चाइनिज स्टडिज’ कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ।
बेल्ट एन्ड रोड पहलअन्तर्गतका मुलुकहरूका लागि लक्षित यो कार्यक्रमले चीनको राजनीति, अर्थतन्त्र, संस्कृति र कानूनको अध्ययनमा केन्द्रित रही भावी विश्वव्यापी नेतृत्वकर्ता तयार गर्ने लक्ष्य राखेको छ। विश्वस्तरीय शिक्षण स्रोत, विशेषज्ञ व्याख्यान, उच्चस्तरीय मञ्च र सांस्कृतिक अभ्यासको सम्मिश्रण रहने यस कार्यक्रमले चीनलाई बुझ्न र चीनको विकास मार्गको अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त अवसर प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ।
योग्यता र आवश्यक कागजात
आवेदक चिनियाँ राष्ट्रियता बाहेकको हुनुपर्ने, वैध साधारण राहदानी धारण गरेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र आपराधिक अभिलेख नभएको हुनुपर्नेछ। स्नातक वा सोभन्दा माथिको उपाधि अनिवार्य छ। अंग्रेजी भाषाको दक्षताका लागि न्यूनतम आईईएलटीएस एकेडेमिक समग्र स्कोर ६.० वा टोफेल आईबीटी ९० आवश्यक छ। यद्यपि, अंग्रेजी मातृभाषा भएका वा अंग्रेजी माध्यमबाट डिग्री हासिल गरेका वा गरिरहेका आवेदकलाई यो छुट दिइएको छ।
आवेदनका लागि शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, वैध राहदानीको प्रतिलिपि, दुईवटा सिफारिस पत्र, व्यक्तिगत विवरण तथा अध्ययन योजना, विदेशी शारीरिक परीक्षण फारम, आर्थिक क्षमताको प्रमाण, ग्यारेन्टी पत्र र आपराधिक अभिलेख नभएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
समयसीमा र शुल्क
अनलाइन आवेदन २५ नोभेम्बर २०२५ देखि ३१ मे २०२६ सम्म खुला रहने छ। आवेदन शुल्क ८ सय चिनियाँ युआन तोकिएको छ। कार्यक्रमको वार्षिक शिक्षण शुल्क ८० हजार चिनियाँ युआन रहेको छ। छनोट भएका विद्यार्थीहरूको अन्तर्वार्ता अनलाइनमार्फत अंग्रेजी भाषामा लिइने छ।
सम्पर्क
थप जानकारीका लागि इमेल: srsruc@ruc.edu.cn वा वेबसाइट: http://sgl.ruc.edu.cn मा सम्पर्क गर्न सकिने विश्वविद्यालयले जनाएको छ।





