२४ बैशाख २०८३, बिहीबार

ट्रम्प भ्रमणअघि बेइजिङमा अमेरिकी सिनेटरको ‘डी–एस्केलेसन’ सन्देश, वाङ यीको जवाफ– सम्मानजनक सहअस्तित्वको आवश्यकता

बेइजिङ । चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ यीले अमेरिकी रिपब्लिकन सिनेटर स्टिभ डेन्सको नेतृत्वमा रहेको द्विदलीय प्रतिनिधिमण्डलसँग बिहीबार भेटवार्ता गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित चीन भ्रमणको एक साताअघि भएको यो भेटले दुई महाशक्तिबीचको सम्बन्धलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको भेटमा सिनेटर डेन्सले स्थिरता र पारस्परिक सम्मानको पक्षमा आफ्नो धारणा स्पष्ट राखे। ‘हामी डिकपल होइन, डी–एस्केलेसन चाहन्छौँ। हामी स्थिरता र पारस्परिक सम्मान चाहन्छौँ,’ डेन्सले भेटको सुरुवातमै भने।

यसअघि गत अप्रिल ३० मा चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग टेलिफोन वार्ता गरेका थिए भने सोही दिन चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले अमेरिकी अर्थमन्त्री र व्यापार प्रतिनिधिसँग भिडियो वार्ता गरेका थिए। यी उच्चस्तरीय संवादकै निरन्तरतामा डेन्स नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल मे १ मा चीन आइपुगेको थियो।

ट्रम्प भ्रमणको पूर्वसन्ध्यामा ‘सेटिङ’

राष्ट्रपति ट्रम्प आगामी मे १४ र १५ मा बेइजिङ भ्रमणमा आउने कार्यक्रम रहेको छ। यस सन्दर्भमा डेन्सको भ्रमणलाई ‘प्रि–भिजिट विन्डो’ को रूपमा हेरिएको छ। चिनियाँ विज्ञहरूका अनुसार यो भ्रमणले उच्चस्तरीय वार्ताका लागि अनुकूल वातावरण तयार पार्ने लक्ष्य राखेको छ।

सन् २०१५ देखि अमेरिकी सिनेटर रहेका डेन्सले सन् २०२३ देखि २०२५ सम्म राष्ट्रिय रिपब्लिकन सिनेटोरियल कमिटीको अध्यक्षको रूपमा सेवा गरे। उनले आगामी चुनावमा उम्मेदवारी नदिने घोषणा गरिसकेकाले पनि यो भ्रमणमा उनलाई बढी राजनीतिक स्वतन्त्रता रहेको विश्लेषण गरिएको छ।

व्यापारिक चासोदेखि बोइङ खरिदसम्म

प्रतिनिधिमण्डलले चीनको पूर्वाधार विकास र नवप्रवर्तन प्रणालीको अवलोकन गर्न साङ्घाईबाट बेइजिङसम्म चिनियाँ हाइ–स्पीड रेलको यात्रा गरेको थियो। भेटका क्रममा सिनेटर डेन्सले ट्रम्प–सी भेटबाट बोइङ विमान खरिद सम्झौताको अपेक्षा पनि राखे। ‘यहाँ बोइङ विमान खरिद भएको करिब ९ वर्ष भइसकेको छ,’ उनले भने।

प्रतिनिधिमण्डलमा डेमोक्र्याट सांसदहरूको सहभागिताले पनि अमेरिकी दुवै दलबीच चीनसँग संवाद बढाउने चासो रहेको सङ्केत गरेको विज्ञहरूको भनाइ छ। वाङ यीसँगको भेटका क्रममा दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल गरेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button