होर्मुज संकटमा चीनको स्पष्ट असहमति : अमेरिकी सैन्य कारबाहीको पक्षमा नलाग्ने, वार्ताबाटै समाधान खोज्न आग्रह

बेइजिङ । चीनले होर्मुज जलसन्धि सङ्कटमा अमेरिकी नेतृत्वको सैन्य कारबाहीको पक्षमा नलाग्ने स्पष्ट पारेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नियमित पत्रकार सम्मेलनमा भने, ‘होर्मुज जलसन्धिको अवस्थाबारे चीनको धारणा एकदम स्पष्ट छ। चीनले तनाव कम गर्न र आफ्ना जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्न प्रयास जारी राख्ने छ।’
केही अमेरिकी अधिकारीहरूले चीनले होर्मुज जलसन्धिमा अमेरिकी नेतृत्वको सैन्य कारबाहीलाई समर्थन गर्नुपर्ने बताएको विषयमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता लिनले उक्त प्रतिक्रिया दिएका हुन्। उनले सबै सम्बद्ध पक्षले विवेकपूर्ण व्यवहार गर्न, स्थितिलाई थप चर्किन नदिन र वार्ताको माध्यमबाट विवाद समाधान गरी सकेसम्म चाँडो उक्त जलसन्धिमा शान्ति पुनर्स्थापना गर्न चीन आशा गर्ने बताए। रुस र कतारबीच पनि हालै होर्मुज संकटबारे टेलिफोन वार्ता भएको थियो, जसमा दुवै पक्षले बल प्रयोग त्याग्न आह्वान गरेका थिए। चीनको यो अडानले पनि कूटनीतिक समाधानप्रतिको प्रतिबद्धता दोहोर्याएको छ।





