लुम्बिनीमा प्रदेश सचिवको जिम्मेवारी तोकियो, इस्माको केन्द्र चापटारी कायम गर्न सिफारिस

देउखुरी । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोकेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकले विभिन्न मन्त्रालय र निर्देशनालयका लागि जिम्मेवारी बाँडफाँट गरेको हो।
बैठकको निर्णयअनुसार राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव तोकिएको छ भने जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। यातायात पूर्वाधार निर्देशनालयको निर्देशकमा अनिल मरासिनीलाई जिम्मा दिइएको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए।
बैठकले गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको ‘अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत भएको छ।
यसैगरी, प्रदेश प्रशासनिक परिसरभित्रको नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री सारुले बताए।





