आठ राष्ट्रका एक सय ५० प्रदर्शकसहित काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर’ सुरु

काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार र सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा उतार्ने उद्देश्यसहित काठमाडौंमा बिहीबारदेखि ‘साउथ एसिया ट्रेड फेयर’ सुरु भएको छ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको मेला वैशाख २८ गतेसम्म सञ्चालन हुने आयोजक इन्ट्रोडक्शन ट्रेड शोज नेपालले जनाएको छ। मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायत दक्षिण एसियाली मुलुकका करिब एक सय ५० भन्दा बढी प्रदर्शक सहभागी छन्।
आयोजकका अनुसार मेलामार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने र त्यसका लागि आवश्यक पहल गर्ने लक्ष्य राखिएको छ। मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि र घरेलु उपकरणलगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाका स्टल राखिएका छन्।
दक्षिण एसियाली आर्थिक सहकार्यलाई प्रगाढ बनाउने उद्देश्यले आयोजित यो मेलाले क्षेत्रीय व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। मेलामा व्यवसायी, उद्यमी, आयातकर्ता, निर्यातकर्ता र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ।





