च्यासलस्थित एमाले पार्टी कार्यालय खाली गर्न सरकारको निर्देशन, भोगाधिकारको म्याद सकिएपछि कारबाही

काठमाडौँ । नेकपा एमालेले ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा सञ्चालन गर्दै आएको पार्टी कार्यालय खाली गर्नुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र त्यसमा बनेको संरचना तत्काल खाली गर्न निर्देशन दिएको हो।
मन्त्रालयले बिहीबार प्रकाशित गरेको सूचनामा ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित)’ को दफा २१ को उपदफा (२) बमोजिम भोगाधिकार प्राप्त भएको र हालसम्म लिजमा परिणत नगरिएका जग्गा खाली गर्न भनिएको छ।
२०७३ जेठ ३१ र २०७४ वैशाख २१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरी भोगाधिकार भएको जग्गा लिजमा परिणत गर्न ६ महिनाको म्याद दिएको थियो। तर एमालेले उक्त म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएकाले भोगाधिकार स्वतः समाप्त भइसकेको मन्त्रालयको भनाइ छ।
सूचनामा भनिएको छ, ‘तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायले भोगाधिकार लिएको जग्गाको हक स्वतः समाप्त भइसकेकाले सम्झौताको शर्तबमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न।’
एमालेले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको थियो। तर उक्त जग्गा हालसम्म लिजमा परिणत गरिएको छैन। मन्त्रालयको यो निर्देशनले अब एमालेलाई च्यासलस्थित पार्टी कार्यालय खाली गर्नुपर्ने दबाब सिर्जना भएको छ।





