५१ बिघा जग्गा विवाद : स्थानीयको प्रश्नले सांसद राना मगर आक्रोशित, ‘जादुमयी ढंगले तुरुन्तै हल गर्न सक्दिनँ’

बिर्तामोड (झापा) । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगर बिहीबार बिहान आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयवासीको चर्को दबाब र प्रश्नको सामना गर्न बाध्य भइन्। बिर्तामोड–५ र अर्जुनधारा–११ स्थित बसपार्क क्षेत्रमा पुगेकी उनलाई लामो समयदेखि रोक्का रहेको ५१ बिघा जग्गाको विषयलाई लिएर स्थानीयले घेरेपछि केही समय वातावरण तनावपूर्ण बनेको थियो।
सर्वोच्च अदालतको फैसलाका कारण उक्त क्षेत्रको ५१ बिघा जग्गाको किनबेच र नामसारी प्रक्रिया वर्षौंदेखि ठप्प छ। आफ्नो जायजेथा उपयोग गर्न नपाएको भन्दै आक्रोशित स्थानीयले सांसद राना मगरलाई मौकामै भेटेपछि समस्या समाधानमा चासो नदेखाएको आरोप लगाए।
स्थानीयको प्रश्नले आक्रोशित बनेकी सांसद राना मगरले आफूले यस विषयमा सदनदेखि प्रधानमन्त्रीसम्म कुरा पुर्याइसकेको दाबी गरिन्। “म तपाईंहरूकै प्रतिनिधि हुँ, तर मैले एक्लैले एक–दुई महिनामै सबै मिलाइदिन्छु भन्न सक्दिनँ। यो अदालतको प्रक्रियामा छ, जादुमयी ढंगले तुरुन्तै हल गर्न सकिन्न,” उनले भनिन्।
उनले यो मुद्दा अदालतको प्रक्रियामा रहेकाले सरकारले पनि आँखा चिम्लेर निर्णय गर्न नसक्ने स्पष्ट पार्दै भूमि मन्त्रालय र प्रधानमन्त्रीसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन्। साथै, पाँच जनाको प्रतिनिधि टोली लिएर काठमाडौं आउन र आफूले सम्बन्धित निकायमा भेटघाटको व्यवस्था मिलाइदिने प्रतिबद्धता पनि जनाइन्।
बिर्तामोड र अर्जुनधाराको सिमानामा पर्ने यो ५१ बिघा जग्गाको विवादले सयौं परिवार प्रत्यक्ष प्रभावित भएका छन्। स्थानीयले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद राना मगरले भने यसअघि पनि सदनमा ५१ बिघाको समस्याबारे आवाज उठाएको स्मरण गराउँदै गारामनी लगायतका अन्य क्षेत्रमा पनि यस्तै समस्या रहेकोले प्याकेजमै समाधान खोज्नुपर्नेमा जोड दिइन्।





