जेपी मोर्गनविरुद्ध नेपाली मूलका बैंकरको १ करोड ७५ लाख डलरको मुद्दा : यौन दुराचारदेखि जातीय उत्पीडनसम्मका आरोप, बैंक भन्छ– ‘बनावटी कथा’

न्युयोर्क । अमेरिकाकै ठूलो बैंक जेपी मोर्गन चेइसमा पूर्व वरिष्ठ उपाध्यक्ष रहेका नेपाली मूलका अमेरिकी बैंकर चिरायु राणाले एक पूर्व महिला सहकर्मीमाथि यौन दुराचार, रंगभेद र पेशागत शोषणको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेका छन्। गत साता न्युयोर्क राज्यको अदालतमा दायर यो मुद्दा अहिले अमेरिकी सञ्चारमाध्यममा चर्चाको केन्द्र बनेको छ।
भर्जिनियामा हुर्किएका ३५ वर्षीय राणासँग क्रेडिट सुइस, द कार्लाइल ग्रुप, मोर्गन स्ट्यान्ली र जेपी मोर्गनलगायत अमेरिकाका ठूला वित्तीय कम्पनीमा काम गरेको अनुभव छ। विवाद सार्वजनिक हुनुअघि उनी न्युयोर्कस्थित निजी इक्विटी कम्पनी ब्रेगाल सेजमाउन्टमा ‘प्रिन्सिपल’ पदमा कार्यरत थिए।
के हो विवाद ?
वाल स्ट्रिट जर्नलका अनुसार राणा मे २०२४ मा जेपी मोर्गनको लेभरेज्ड फाइनान्स टिममा वरिष्ठ उपाध्यक्षका रूपमा भर्ना भएका थिए। एक वर्षपछि मे २०२५ मा उनले बैंकको मानव संसाधन विभागमा निवेदन दिँदै आफ्नै वरिष्ठ सहकर्मी लोर्ना हाज्दिनीमाथि जातीय भेदभाव र यौन दुराचारको आरोप लगाए। बैंकले आन्तरिक छानबिन सुरु गरी उनलाई तलबसहित बिदामा राख्यो। तर महिनौंको अनुसन्धानपछि पनि आरोप प्रमाणित गर्न पर्याप्त ठोस तथ्य नभेटिएको बैंकको दाबी छ। राणाले अनुसन्धानमा पूर्ण सहयोग नगरेको पनि बैंकको आरोप छ।
अदालतमा पेश गरिएको दस्तावेजमा जेपी मोर्गनकी ३७ वर्षीया कार्यकारी निर्देशक हाज्दिनीले पटक–पटक यौन सम्बन्धको माग गरेको, अस्वीकार गरे करिअर नष्ट गरिदिने धम्की दिएको र बैंकमा काम गरेको अवधिभर जातीय गाली–गलौज गरेको आरोप लगाइएको छ।
बैंकको खण्डन, १० लाख डलरको मिलापत्र प्रस्ताव अस्वीकार
जेपी मोर्गनले सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएको छ। बैंकले भनेको छ, “धेरै कर्मचारीसँग कुराकानी गरेर आन्तरिक छानबिन गरिएको थियो, हामीले यी दाबीमा कुनै विश्वसनीयता देखेनौं।” हाज्दिनीले पनि वकिलमार्फत सबै आरोप अस्वीकार गरेकी छन्।
वाल स्ट्रिट जर्नलका अनुसार सन् २०२६ को मार्चमा बैंकले मध्यस्थतामार्फत राणालाई १० लाख अमेरिकी डलर दिन प्रस्ताव गरेको थियो, जुन उनको दुई वर्षको तलबभन्दा कम हो। राणाले उक्त प्रस्ताव स्वीकार नगरेपछि अप्रिलमा उनका वकिलले १ करोड १७ लाख ५० हजार डलर क्षतिपूर्ति माग गरे। बैंकले अस्वीकार गरेपछि सार्वजनिक रूपमा मुद्दा दर्ता भएको हो।
किन चर्चामा ?
यो मुद्दा भाइरल हुनुका पछाडि अदालतमा पेश गरिएको कानुनी दस्तावेजको असाधारण रूपमा ग्राफिक भाषा, परम्परागत ढाँचा (महिला पीडित, पुरुष आरोपी) विपरीत पुरुष पीडित र महिला आरोपित हुनु, र एआई–निर्मित भिडियो सामाजिक सञ्जालमा द्रुत गतिमा फैलिनु प्रमुख कारण हुन्। जो रोगन र मेगन केलीजस्ता हाइ–प्रोफाइल टिप्पणीकारले पनि यस विषयमा सार्वजनिक धारणा राखेका छन्।
मुद्दा अहिले पनि जारी छ। राणाले अहिलेसम्म कुनै सार्वजनिक अन्तर्वार्ता वा वक्तव्य दिएका छैनन्। अब यो प्रकरण न्युयोर्कको अदालत प्रणालीमार्फत अघि बढ्ने छ।





