प्रधानन्यायाधीशका लागि आज सिफारिस : संवैधानिक परिषद बैठक ५ बजे, वरिष्ठताको ‘रेकर्ड ब्रेक’ हुने कि नहुने चासो

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न ५ बजे संवैधानिक परिषदको बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकको मुख्य एजेन्डा सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रहेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत गत चैत १८ गते ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कामुको जिम्मेवारी सम्हाल्दै आएकी छन्। रिक्त पदमा नियुक्तिका लागि न्याय परिषदले यसअघि नै मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ गरी ६ न्यायाधीशको रोस्टर पठाइसकेको छ।
६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री शाह अध्यक्ष रहने व्यवस्था छ। प्रधानन्यायाधीशकै सिफारिसको एजेन्डा भएकाले कानुनमन्त्री सोविता गौतम सदस्यका रूपमा सहभागी हुनेछिन्। अन्य सदस्यमा सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेङ्बे र उपसभामुख रुबीकुमारी ठाकुर छन्।
परिषद्मा सर्वसम्मति नजुटेमा बहुमतबाट निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेशमा ३ जनाको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ। प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि परिषदले ढिलाइ गर्दै आएको छ।
रोलक्रमअनुसार मल्ल वरिष्ठतामा पहिलो नम्बरमा छिन्। तर मल्ल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम चर्चामा छ। वरिष्ठताक्रम तलमाथि नगरी सिफारिस नगरेमा सर्वोच्चको विगतको रेकर्ड ब्रेक हुनेछ। यसअघि दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएबाहेक वरिष्ठताक्रम तलमाथि भएको छैन।
परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुने संवैधानिक व्यवस्था छ।




