२४ बैशाख २०८३, बिहीबार

पोखरा विमानस्थल निर्माणमा साढे ३ अर्बको भ्रष्टाचार, पूर्वमन्त्री कार्कीसहित १० विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा वैदेशिक ऋण परिचालनमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई कर छुट दिने गरी गैरकानुनी सम्झौता गरेर राज्यकोषलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ नोक्सानी पुर्याएको दाबी गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको मूल खरिद सम्झौतामा निर्माण उपकरण र सामग्रीको कर तथा महसुल ठेकेदारले नै तिर्नुपर्ने स्पष्ट प्रावधान भए पनि तत्कालीन मन्त्री र सचिवहरूको बद्नियतले सरकारी कोषबाट तिरिएको थियो । अनुसन्धानबाट ठेकेदारलाई दोहोरो लाभ दिइएको खुलेको आयोगको दाबी छ ।

ऋणस्वरूप प्राप्त सार्वजनिक सम्पत्तिको व्यापक दुरुपयोग गरी राज्यलाई अर्बौंको व्ययभार थपेको पुष्टि भएपछि अख्तियारले उच्च पदस्थहरूलाई मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएकामा पूर्वअर्थमन्त्री कार्कीसँगै पूर्वअर्थ सचिव शंकरप्रसाद अधिकारी, पूर्व पर्यटन सचिवद्वय महेश्वर न्यौपाने र सुरेश आचार्य छन् ।

त्यस्तै तत्कालीन सहसचिवद्वय केवलप्रसाद भण्डारी र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारी, इन्जिनियर योगेश अर्याल तथा कर्मचारी युगराज पाण्डे र उर्मिला भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगले ठेकेदार कम्पनीका अध्यक्ष वाङ बो र परियोजना प्रबन्धक याङ झिगाङलाई समेत भ्रष्टाचारको मतियार ठहर गर्दै प्रतिवादी बनाएको छ । यसअघि पनि अख्तियारले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित दर्जनौंलाई प्रतिवादी बनाएर दुईवटा मुद्दा दायर गरिसकेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button