माइतीघर कुटपिट प्रकरण : अम्बिका बस्नेतसहित १० जना धरौटीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अम्बिका नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती हुन् ।
वैशाख १० गते माइतीघरमा अम्बिकालगायतले शोभा पाठकमाथि कुटपिट गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।
बिहीबार अदालतले अम्बिका र शर्मीला बस्नेतलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अन्य आठ जनालाई भने २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
आठ जनामा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र नीता खत्री रहेका छन् ।
महेश बस्नेतबाट यौन हिंसामा परेको भन्दै पीडित शोभा पाठक माइतीघरमा महेशलाई कारबाहीको माग गर्दै धर्नामा बसेकी थिइन् । अदालतमा विचाराधीन विषयमा आरोप लगाएको भन्दै अम्बिकालगायत आएर कुटपिट गरेको आरोप छ ।




