प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता नमिच्न कांग्रेसको आग्रह, ‘उत्तर कोरिया’ शैली नअपनाउन चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता नमिच्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार साँझ ५ बजे प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान भएको अवस्थामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र नेता पूर्णबहादुर खड्काले परम्पराविपरीत नजान सार्वजनिक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका परिषद् अध्यक्ष बालेन्द्र शाहले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरी रोस्टरका अरू न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने तयारी गरेको बाहिरिएपछि कांग्रेस नेताहरूले विगतको परम्परा नतोड्न आग्रह गरेका हुन् ।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने संवैधानिक व्यवस्थाअनुसार न्याय परिषद्ले ६ जनाको नाम पठाएको छ । जसमा न्यायाधीश मल्लसहित कुमार रेग्मी, हरि फुयाल, मनोज शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ ।
उपसभापति शर्माले विगतका गल्ती सच्याउने प्रतिबद्धता लिएर आएका प्रधानमन्त्रीले ‘उत्तर कोरिया’को शैली नअपनाउन आग्रह गरेका छन् । नेपालको न्यायिक इतिहासमा आजसम्म नभएको वरियता मिच्ने कार्य नगर्न सुझाव दिँदै शर्माले परम्परा कायम राख्न आह्वान गरे ।
‘परम्परालाई परिषद्ले तलमाथि नगरोस्, नभए धेरै ठूलो असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दो अस्थिरता आउने छ, जसले हाम्रो स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सर्वसम्मतिले निर्णय गरियोस् ।’
यस्तै नेता खड्काले पनि करिब चार दशक लामो परम्परालाई तलमाथि नगर्न आह्वान गर्दै सर्वसम्मतिले प्रधानन्यायाधीश नियुक्त गर्न अपिल गरेका छन् । उनले पनि परम्परा तोडिए न्यायालयमा डरलाग्दो अस्थिरता आउने र त्यसले स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा रहेको बताए ।
यसैबीच सभापति गगन थापाले पनि परिषद्का ६ जनामध्ये ३ जनाको बहुमत पुग्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । उनले बुधबार सरकारले आफू निकट व्यक्तिलाई नियुक्त गर्ने गलत मनसायले अध्यादेश ल्याएको दाबी गरेका थिए ।




