चिनियाँ पूर्वरक्षामन्त्रीद्वयलाई मृत्युदण्ड

काठमाडौं – चीनले आफ्ना दुई पूर्वरक्षामन्त्रीलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। सैनिक अदालतले पूर्वरक्षामन्त्रीद्वय वेइ फङ्ह र लि साङफुलाई बिहीबार ‘दुई वर्षे स्थगनसहित’ मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
बीबीसीका अनुसार अदालतले वेइ फङ्हलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ भने लि साङफुलाई घुस लिने र दिने दुवै कसुरमा दोषी ठहर गरिएको छ। तथापि, घुसको रकम भने सार्वजनिक गरिएको छैन। सिन्ह्वाको दुई अनुच्छेदको विज्ञप्तिमा भनिएको छ, “वेइ र लि दुवैलाई दुई वर्षे स्थगनसहित मृत्युदण्ड, राजनीतिक अधिकारमा आजीवन प्रतिबन्ध र सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गर्ने आदेश दिइएको छ”।
चिनियाँ कानुनअनुसार यो सजाय तत्काल कार्यान्वयन हुँदैन। दुई वर्षको अवधिमा दोषीले थप अपराध नगरेमा सजाय स्वतः आजीवन काराबासमा बदलिनेछ। तर, त्यसपछि उनीहरूले सजाय माफी वा प्यारोल पाउने छैनन्। यो सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सी चिनफिङले चलाएको भ्रष्टाचारविरोधी अभियानकै सबैभन्दा कठोर सजाय हो। सी स्वयंले केही समयअघि मात्र सेना “भ्रष्टाचारविरुद्धको लडाइँमा क्रान्तिकारी तापक्रमबाट गुज्रिएको” बताएका थिए।
उल्लेखनीय छ, यो घटनालाई चीनको डेढ दशक लामो भ्रष्टाचारविरोधी अभियानकै एउटा कडीका रूपमा हेरिएको छ। सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेईपछि लि सन् २०२३ को मार्चमा रक्षामन्त्री बनेका थिए। तर, लि सोही वर्षको अक्टोबरमा बर्खास्त भए। दुवैलाई सन् २०२४ मा पार्टीबाट निष्कासित गरी सबै सैन्य दर्जा खोसिएको थियो।




