विश्व युवा मञ्च–२०२६ का लागि राष्ट्रिय तयारी समितिसँग रुसी सदनमा बैठक सम्पन्न

काठमाडौं, – विश्व युवा मञ्च–२०२६ (डब्लुवाइएफ) का लागि गठित राष्ट्रिय तयारी समितिका पदाधिकारीहरूसँग मङ्गलबार काठमाडौंस्थित रुसी सदनमा एक कार्यगत बैठक सम्पन्न भएको छ।
बैठकमा समितिका अध्यक्ष सम्राट गौचन र सचिव सुन्दर घिमिरेसहित नेपालका विभिन्न क्षेत्रका युवा तथा शैक्षिक वृत्तका सक्रिय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले गैरसरकारी संस्था र सामाजिक–राजनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। रुसी पक्षबाट काठमाडौंस्थित रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभा सहभागी थिइन्।
सहभागीहरूले सन् २०२४ मा सोचीमा सम्पन्न विश्व युवा मञ्चको स्मरण गरे, जसमा नेपालबाट एक सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। साथै, यस वर्षको मञ्चबारे साझा विचार, अपेक्षा, मञ्चपछिका कार्यक्रम, सहभागिताको ढाँचा र राष्ट्रिय विज्ञहरूलाई मञ्चको कार्यमा समावेश गर्ने सम्भावनाबारे छलफल भयो। तयारी समितिको कार्यकारी समितिले रुसी सदनलाई मञ्च निर्देशनालयमा पेस गरिएको सम्भावित सहभागीहरूको सूचीको प्रतिलिपि पनि हस्तान्तरण गर्यो।


छलफलका क्रममा मञ्चको पूर्ण सहभागितापश्चात रुसी सदनको आधारमा एउटा नयाँ सङ्गठन ‘नेपाल–रुस युवा क्लब’ गठनको सम्भावनाबारे पनि चर्चा गरियो। उक्त क्लबले मञ्चका सहभागी, प्रतिनिधि तथा यात्राका उम्मेदवारहरूका साथै बृहत्तर युवा र विद्यार्थी समुदायलाई एकताबद्ध गरी सूचना प्रविधि, संस्कृति तथा कला, शिक्षा र वैज्ञानिक सहकार्यजस्ता विषयमा नियमित भेटघाट आयोजना गर्ने अपेक्षा गरिएको छ। यस्तो क्लबले तयारी समितिको कार्यक्षेत्रलाई उल्लेख्य रूपमा विस्तार गरी नेपाली युवा समुदायका बढीभन्दा बढी इच्छुक प्रतिनिधिहरूलाई रुसी सदनसँगको सहकार्यमा जोड्ने विश्वास लिइएको छ।
विश्व युवा मञ्च–२०२६ : असीमित सम्भावना
यो बैठक विश्व युवा मञ्चकै गहन तयारीकै पृष्ठभूमिमा आयोजित भएको हो। ज्ञात भएअनुसार, विश्व युवा मञ्च–२०२६ ले ८४ देशका करिब १२० प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्गठनका नेताहरूलाई एकत्रित गर्नेछ। मञ्चको अवधारणा मस्कोमा सार्वजनिक गरिएको थियो, जहाँ रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेङ्को र विदेशमन्त्री सर्गेई लाभरोभले शुभकामना दिएका थिए, भने रोस्मोलोदेझका प्रमुख ग्रिगोरी गुरोभले यसको लक्ष्य र ढाँचाबारे विस्तृत जानकारी दिएका थिए।
हालसम्म १७५ देश र रुसका ८९ क्षेत्रबाट ६० हजारभन्दा बढी आवेदन प्राप्त भइसकेका छन्। सबैभन्दा बढी सहभागी मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूबाट रहेका छन्। आगामी सेप्टेम्बरमा येकातेरिनबर्गले विश्वभरका १९० देशका करिब १० हजार सहभागीलाई स्वागत गर्नेछ।





