२५ बैशाख २०८३, शुक्रबार

सिक्टाको डुडुवा नहर निर्माण तीव्र, १६ हजार हेक्टरमा बाह्रैमास सिँचाइको लक्ष्य

नेपालगञ्ज – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत हाल डुडुवा शाखा नहरको निर्माण द्रुत गतिमा भइरहेको छ।

२३.४ किलोमिटर लामो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुग्नेछ। नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन्।

विगतमा ठेक्का विवादका कारण लामो समय रोकिएको निर्माण कार्य पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत सुचारु गरिएको छ। हालसम्म नहरको भौतिक प्रगति २६ प्रतिशत पुगेको र असार मसान्तसम्म ४० प्रतिशत पुर्याउने लक्ष्य राखिएको आयोजनाका इन्जिनियर विकास विष्टले जानकारी दिए।

नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर टनेलमार्फत र बाँकी भाग खुला संरचनामा नहर निर्माण हुनेछ। रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले एक अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ।

नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ पाउने आयोजना प्रमुख राजु आचार्यले बताए। उनले यसले कृषि उत्पादन वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button