गढवामा पहिलोपटक राज गोमन (किंग कोब्रा) भेटियो, उद्धारपछि प्राकृतिक बासस्थानमै पुनर्स्थापना

देउखुरी, दाङ — विषालु सर्पको सूचीमा संसारकै लामो मानिने ‘राज गोमन’ (किंग कोब्रा) दाङको गढवामा पहिलोपटक फेला परेको छ। सर्प उद्धारकर्ता शिवु खनालले गढवा गाउँपालिका–७ लक्ष्मीनपुर निवासी शुसिला गुरुङको घरबाट सो सर्पको सफल उद्धार गरेका हुन्।
यसअघि यस क्षेत्रमा कहिल्यै नदेखिएको राज गोमन भेटिएपछि स्थानीयबाट खबर पाउनासाथ उद्धारकर्ता खनालको टोली घटनास्थल पुगेको थियो। डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत गणेश खड्कालाई जानकारी गराइपछि खनालको नेतृत्वमा दुई वन कर्मचारीसहितको टोलीले करिब एक घण्टाको प्रयासमा सर्पलाई जीवितै नियन्त्रणमा लिएको थियो।
करिब ८ किलो तौल र १० फिट लम्बाइको सो राज गोमनलाई डिभिजन वनको समन्वयमा लमही नगरपालिका–५ स्थित अजम्मरी सामुदायिक वनमा लगेर प्राकृतिक बासस्थानमै पुनर्स्थापित गरिएको छ।





