२५ बैशाख २०८३, शुक्रबार

वरिष्ठता मिचियो भन्दै बालेनको प्रस्तावमा भीष्मराजको लिखित असहमति, चौथो वरियताका शर्मा प्रधानन्यायाधीश सिफारिस

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेबीच तीखो सवालजवाफपछि संवैधानिक परिषद्ले वरिष्ठता क्रम तोड्दै चौथो वरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ।

बिहीबार बसेको परिषद् बैठकमा प्रधानमन्त्री शाहले डा. शर्माको नाम प्रस्ताव गर्नासाथ विपक्षी नेता आङ्देम्बेले ‘परम्परा र विधान मिचिएको’ भन्दै कडा आपत्ति जनाएका थिए। प्रायः सबै सदस्य मौन रहेको अवस्थामा दुई नेताबीच भएको भनाभनले बैठक डेढ घण्टाभन्दा लामो चलेको हो।

प्रधानमन्त्रीले आफ्नो प्रस्तावको पक्षमा न्यायसम्पादनको तथ्यांक प्रस्तुत गरे। उनले भने, “न्यायाधीश डा. शर्माले पाँच वर्षमा साढे सात हजार मुद्दा फैसला गरेका छन्, जबकि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले चार हजार जति मात्र फैसला गरेकी छन्।”

तर, विपक्षी नेता आङ्देम्बेले यो तर्क अस्वीकार गर्दै भने, “कसले कति फैसला गर्यो भन्दा पनि संविधानले परिकल्पना गरेको विधि र वरिष्ठताको परम्परा हेर्नुपर्थ्यो। यसलाई मान्न सकिँदैन।”

प्रधानमन्त्रीले अडान नछाडेपछि आङ्देम्बेले बैठकमै लिखित ‘नोट अफ डिसेन्ट’ पेस गरेका छन्। यो घटनाक्रमले न्यायालयको नेतृत्व चयनमा देखिएको गहिरो राजनीतिक विभाजनलाई सतहमा ल्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button