२५ बैशाख २०८३, शुक्रबार

लिपुलेक नयाँ होइन, नेपालको दाबी एकपक्षीय : भारत सीमा वार्ताका लागि तयार

काठमाडौं। भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न तयार रहेको बताएको छ। तर, लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथिको नेपालको दाबीलाई भने उसले ‘एकपक्षीय’ भन्दै अस्वीकार गरेको छ।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग सन् १९५४ देखि चल्दै आएको पुरानो व्यवस्था भएको दाबी गरे। “यो नयाँ कुरा होइन। लिपुलेक लगायतका क्षेत्रमा नेपालको एकपक्षीय दाबी ठिक छैन। बाँकी जति पनि मुद्दा छन्, हामी बसेर छलफल गर्न तयार छौँ,” उनले भने।

प्रवक्ता जयसवालले थपे, “यदि सीमा विवाद छ भने पनि हामी छलफल गर्न तयार छौँ। तर, यसरी एकतर्फी रूपमा फलानो चिज हाम्रो हो भन्ने तरिका ठिक होइन।”

भारत र चीनले आगामी जुनदेखि अगस्टसम्म लिपुलेक हुँदै तीर्थयात्रा सुचारु गर्ने तयारी गरेपछि नेपालले कडा आपत्ति जनाएको थियो। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै दुवै देशलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। नेपालले सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो अभिन्न भूभाग रहेको अडान दोहोर्याएको छ।

उता, नेपालको विज्ञप्तिलगत्तै भारतले पनि विज्ञप्ति निकाल्दै लिपुलेक आफ्नो भएको दाबी गरेको थियो। चीनले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन। चीनले पटकपटक यो समस्या नेपाल र भारतको आपसी मामिला भन्दै आएको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा समेत चीनले भारतीय पक्षलाई नेपालसँग सीमा समस्या समाधान गर्न भनिसकेको बताइएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button