बारमा आकस्मिक छलफल : प्रधानन्यायाधीश सिफारिसविरुद्ध आधिकारिक धारणा बनाउने तयारी

काठमाडौं। नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्को बहुमतीय सिफारिसपछि प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा आधिकारिक धारणा बनाउन भोलिका लागि आकस्मिक बैठक डाकेको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीहरूलाई रायका लागि छलफलमा बोलाइएको छ। उनले बैठकपछि बारले यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको लिखित असहमतिका बाबजुद बहुमत निर्णयका आधारमा चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो। वरिष्ठता मिचेर भएको यो सिफारिसले न्यायालय वृत्तमा व्यापक बहस छेडेको छ।





