ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणना : उच्च हिमाली भेगमा ५६ क्यामेरा जडान

बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिन लगाएर तीन समूहका प्राविधिक तथा कर्मचारीले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटर उचाइका ५६ स्थानमा सेन्सरसहितका क्यामेरा राखेका हुन्।
नाउर र झारलको वैधानिक सिकार हुने यस आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने गरी छवटा सिकार ब्लकमा क्यामेरा जडान गरिएको छ। ओडारमा बास बसेर हिउँ छिचोल्दै टोली क्यामेरा राखेर फर्किएको उनले बताए।
क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ। यसबीच हरेक १५ दिनमा प्राविधिक टोली पुनः तिनै स्थानमा पुगेर क्यामेराको ब्याट्री र मेमोरी कार्ड परिवर्तन गर्नेछ। “सम्भावित बासस्थान, ओडार र उच्च हिमाली बनोट हेरेर क्यामेरा राखिएको छ,” सुवेदीले भने।
१५ जना खटिएको यस गणनामा क्यामेराले कैद गरेको फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवा पहिचान गरिनेछ। साथै, जङ्गलमा भेटिएको दिसाको प्रयोगशाला परीक्षण तथा पदचिह्न र सङ्केत सर्वेक्षणबाट पनि सङ्ख्या अनुमान गरिने जनाइएको छ। एक हजार ३२५ वर्ग किलोमिटरमा फैलिएको यो आरक्ष बागलुङ, म्याग्दी र रुकुमसम्म विस्तारित छ।





