२५ बैशाख २०८३, शुक्रबार

बैंकिङ ठगी आरोपमा माओवादी सांसद पार्कीविरुद्ध पक्राउ पुर्जी, चार महिनादेखि फरार

कैलाली। तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका जगतबहादुर पार्कीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। तर, पुर्जी जारी भएको चार महिना बितिसक्दा पनि उनी प्रहरी सम्पर्कमा आएका छैनन्।

डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी घर भएका पार्कीविरुद्ध धनगढी–३ का नरेशबहादुर थापाले गत चैत २ गते मुद्दा दायर गरेका थिए। अदालतले चैत १७ गते नै पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले पुर्जी जारी भएको पुष्टि गर्दै भने, “मुद्दा अदालतमा बुझाइसकिएको छ, तर उनी अहिलेसम्म पक्राउ परेका छैनन्।”

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा पार्कीमाथि अनुसन्धान भइरहेको छ। कैलालीमा मात्र नभई काठमाडौंमा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ। केही दिनअघि प्रहरी वृत्त बानेश्वरको टोली उनलाई पक्राउ गर्न बानेश्वरस्थित निवासमै पुगेको थियो, तर घरमा फेला नपरेपछि रित्तै फर्किएको थियो।

प्रहरीका अनुसार मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित भएकाले पीडितको रकम फिर्ता भए मिलापत्र हुने सम्भावना रहन्छ। डीएसपी तिमिल्सिनाले भने, “पक्राउ पुर्जी जारी भएको लामो समय भइसक्यो, माथिल्लो निकायको आदेश र आरोपी सम्पर्कमा आउने पर्खाइमा छौँ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button