ट्रम्पको दाबी : होर्मुजमा अमेरिकी युद्धपोतलाई क्षति भएन, इरानलाई कडा चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पार गरेका तीन अमेरिकी युद्धपोतलाई कुनै क्षति नपुगेको दाबी गरेका छन्। उनले इरानी आक्रमणकारीलाई ठूलो क्षति पुगेको बताउँदै भविष्यमा अझ कडा जवाफ दिने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “आज हामीले उनीहरूलाई जसरी ध्वस्त पार्यौं, यदि उनीहरूले छिटो सम्झौतामा हस्ताक्षर गरेनन् भने भविष्यमा अझ कडा र अझ हिंस्रक रूपमा ध्वस्त पार्नेछौं।”
यसअघि सिन्ह्वाका अनुसार अमेरिकी रक्षा अधिकारीहरूले दुई अमेरिकी युद्धपोत होर्मुज पार गरेर खाडीमा प्रवेश गरेको जानकारी दिएका थिए। इरानले ती जहाजलाई निशाना बनाएर मिसाइल, ड्रोन र साना डुङ्गा प्रयोग गरे पनि कुनै पनि हतियार अमेरिकी जहाजसम्म पुग्न नसकेको सिन्ह्वाको समाचारमा उल्लेख थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार इरानविरुद्धको संयुक्त सैन्य कारबाही सकिएको घोषणा गर्दै अब होर्मुज खोल्ने ‘प्रोजेक्ट फ्रिडम’ मा केन्द्रित हुने बताएका थिए ।
सिन्ह्वाका अनुसार इरानले भने अमेरिकी दाबी अस्वीकार गर्दै होर्मुजबाट कुनै व्यावसायिक जहाज नगुज्रिएको जनाएको छ ।





