रुस र ओमानबीच खाडी क्षेत्रमा तनाव नबढाउन सहमति, कूटनीतिक समाधानमा जोड

मस्को। रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसइदीबीच मे ७ मा टेलिफोन वार्ता भएको छ। दुई मन्त्रीबीच मध्यपूर्वको पछिल्लो अवस्था, विशेष गरी पर्सियन खाडी क्षेत्रको तनावबारे छलफल भएको रुसी विदेश मन्त्रालयले जनाएको छ।
दुवै पक्षले इरान वा छिमेकी अरब राष्ट्रमाथि हुने आक्रमणबाट नागरिक पूर्वाधारमा क्षति पुग्ने र हिंसा दोहोरिने अवस्था रोक्नुपर्नेमा जोड दिए। उनीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा कृत्रिम रूपमा तनाव नबढाउन र परिस्थितिलाई तत्काल राजनीतिक तथा कूटनीतिक समाधानको बाटोमा फर्काउनुपर्ने आवश्यकता औंल्याए।
लाभरोभले अन्तर्राष्ट्रिय कानुन र क्षेत्रका सबै देशको वैध हितलाई ध्यानमा राख्दै समाधानका लागि रुस तयार रहेको प्रतिबद्धता दोहोर्याए। उनले पर्सियन खाडीका लागि रुसले प्रस्ताव गरेको सामूहिक सुरक्षा अवधारणाका सिद्धान्त र व्यावहारिक कदमहरूको आधारमा आवश्यक सहयोग गर्ने तयारी पनि व्यक्त गरे।
वार्ताका क्रममा दुई देशबीच बहुआयामिक सहकार्यलाई थप सुदृढ गर्दै लैजाने विषयमा पनि छलफल भएको रुसी विदेश मन्त्रालयले जानकारी दिएको छ।





