प्रेमको प्रतीक बन्दै ग्यिजिन लाम्त्सो : नीलो मनले ढाकिएको हिमाली तालमा युवाको भीड

ल्हासा। “मायाको ग्यिजिन लाम्त्सो” गीतको मधुर धुनसँगै जेठ १ गते बिहान ग्यिजिन लाम्त्सो तालको ढोका खोल्ने समारोह भव्य रूपमा सम्पन्न भएको छ। गायिका याङ्जेन ल्हाजेले प्रस्तुत गरेको सो गीतले उपस्थित दर्शकको मन तानेको थियो भने कार्यक्रमस्थल मानिसले खचाखच भरिएको थियो।
स्थानीय विशेषता झल्कने नृत्य प्रदर्शन र मौलिक वस्तुहरूको प्रदर्शनी–बिक्रीजस्ता विविध कार्यक्रमले ताल खुल्ने समारोहलाई थप रङ्गीन बनाएको थियो। विशेषगरी प्रेम प्रतिज्ञा आदानप्रदान कार्यक्रमले यस स्थानको मौलिकता उजागर गरेको छ।



समुद्र सतहबाट ४ हजार ५ सय मिटरभन्दा माथि रहेको ग्यिजिन लाम्त्सो चारैतिर हिमालले घेरिएको नीलो मनजस्तो देखिन्छ। स्वच्छ पानीको छालसँग मिसिएका लोककथाहरूले यसलाई प्रेमको आशा राख्ने पवित्र स्थल बनाएको छ। पछिल्लो समय यो ताल युवापुस्ताका लागि अटल प्रेम र सहयात्राको प्रतिज्ञा गर्ने गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।
ल्हासाबाट आउने यात्रुका लागि ल्हा–न्यिङ द्रुतमार्ग हुँदै माल्गो गुङ्गार क्षेत्रको रुथोक निस्किएर अघि बढे यो ताल पुग्न सकिन्छ। यदि ल्होका सहरबाट आउँदै हुनुहुन्छ भने जेताङबाट साङ्ग्रीतर्फ लागी साङ्ग्रीको जिङफी गाउँ हुँदै कुन्देलिङ घाँसेमैदान पार गरेपछि ग्यिजिन लाम्त्सोमा पुगिन्छ। जुनसुकै मार्गबाट आए पनि यात्राका क्रममा सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।





