२५ बैशाख २०८३, शुक्रबार

बालेनले भेट्नै नमानेपछि भारतीय विदेश सचिवको भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भेट्नै समय ननिकालेपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको बहुप्रतीक्षित नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। आइतबार काठमाडौं उत्रिने र सोमबारदेखि दुई दिने औपचारिक भ्रमण गर्ने तयारी रहेका मिश्रीको भ्रमण एकाएक रोकिएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिने तयारी थियो। तर प्रधानमन्त्री शाहले उनलाई भेट्न समय नै ननिकालेपछि भ्रमण स्थगित हुन पुगेको हो। स्रोत भन्छ, “भेट्नै नपाइने भएपछि आएर के गर्नु भन्ने भयो।”

गत चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि दक्षिणी छिमेकी दिल्लीले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिन विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुनेबित्तिकै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका थिए। त्यही सकारात्मक माहोलमा मिश्रीको भ्रमण तय भएको थियो।

मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृत राईको निमन्त्रणमा दुई दिने भ्रमणका लागि आउन लागेका थिए। भ्रमणका क्रममा दुई देशका सचिवबीच बहुआयामिक सम्बन्धका विविध पक्षमा छलफल हुने बताइएको थियो। उनले प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो।

उता दिल्लीले भने मिश्रीको अन्य तालिकाका कारण भ्रमण सारिएको जानकारी परराष्ट्रलाई पठाएको छ। तर दिल्ली र भारतीय दूतावासले अन्तिम समयमा भ्रमण स्थगनको वास्तविक कारण भने खुलाएका छैनन्।

२०८२ असार १४ गते भारतीय विदेश मन्त्रालयको सचिव बनेका मिश्रीको यो पहिलो नेपाल भ्रमण हुने थियो। तर उच्च तहको भेटवार्ता नै सुनिश्चित नभएपछि भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button