२६ बैशाख २०८३, शनिबार

धरानमा आधारभूत अस्पताल बन्ने, मन्त्रिपरिषदबाट जग्गा उपयोगको प्रस्ताव स्वीकृत

काठमाडौं । सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने राष्ट्रिय संकल्प कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ । वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पेश गरिएको उक्त प्रस्तावलाई सरकारले नागरिकको आधारभूत आवश्यकतासँग जोडेर प्राथमिकताका साथ अघि बढाएको छ । यो निर्णयसँगै धरान उपमहानगरपालिका–१ स्थित छाता चोकमा रहेको कित्ता नम्बर २४ को १–४–१३–१ विघा जग्गामा स्थानीयस्तरको सुविधासम्पन्न अस्पताल बन्ने बाटो खुलेको छ ।

‘हरेक स्थानीय तहमा एक आधारभूत अस्पताल’ स्थापना गर्ने सरकारी नीति र १५ औं योजनाले अघि सारेको रूपान्तरणकारी परियोजनालाई सफल बनाउन यो कदम निकै अर्थपूर्ण देखिएको छ । धरानमा हालसम्म आफ्नै आधारभूत अस्पताल नभएको यथार्थलाई मध्यनजर गर्दै संघीय सरकारले स्थानीय जनभावना र आवश्यकतालाई यो निर्णयमार्फत प्रत्यक्ष सम्बोधन गरेको छ ।

विज्ञ दाहालले यस प्रक्रियामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सकारात्मक राय र सहमति प्राप्त हुनुले सरकारी निकायबीचको प्रभावकारी समन्वय पुष्टि भएको उल्लेख गरिन् । विगतमा जग्गा प्राप्तिको विषयलाई लिएर विभिन्न राजनीतिक तह र सामाजिक सञ्जालमा विरोधका स्वर सुनिए पनि सरकारले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी ठोस निकास दिएको उनको भनाइ छ ।

‘लामो समयदेखिको जग्गाको अन्योल चिर्दै चालिएको यो कदमले धरानका जनतामा स्वास्थ्य सेवाको नयाँ आशा जगाएको छ र संघीय सरकार स्थानीय विकासका लागि सदैव सहयोगी रहेको सन्देश प्रवाह गरेको छ,’ दाहालले भनिन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button