तेस्रोपटक म्याद थप, तालचोक-बेगनास सडक असारभित्र सक्ने प्रतिबद्धता

पोखरा । निर्माणमा ढिलाइ भइरहेको तालचोक–बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्र सक्ने गरी विसं २०७९ असारमा सम्झौता भएको थियो ।
महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमका अनुसार आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याद थप भएको छ । ‘तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्र काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ ।’ सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायत सरोकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने बचन दिएको उनले बताए ।
‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ ले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । त्यसयता पनि निर्माण कम्पनीकै ढिलासुस्ती र जग्गा विवादका कारण सडक समयमा बन्न सकेको थिएन । महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने इन्जिनियर गौतमले बताए ।
विश्व बैंकको आर्थिक सहयोगमा चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको उक्त सडकको कूल लागत रु एक अर्ब ४९ करोड अनुमान गरिए पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा मात्र ठेक्का सम्झौता भएको थियो । सडकमा फुट ट्रयाक, साइकल लेन, पार्किङ, बगैंचा, सडकबत्ती र तीनवटा पुल निर्माण हुनेछन् ।
महानगरको गौरवको आयोजनाका रूपमा रहेको यो सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिंगो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने नगरप्रमुख धनराज आचार्यले बताए । पृथ्वी राजमार्गसँग जोडिएको र बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिने भएकाले यसले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ ।





