उद्योगलाई जनशक्तिको खाँचो, युवालाई रोजगारीको पर्खाइ; मोरङमा मानव संसाधन सम्मेलन सुरु

सुन्दरहरैंचा (मोरङ) । औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति र कार्यरत जनशक्तिबीचको अभाव कम गर्ने उद्देश्यले उद्योग संगठन मोरङले दुई दिने मानव संसाधन सम्मेलन सुरु गरेको छ ।
शुक्रबार सुन्दरहरैंचा नगरपालिकामा सीआइएम एचआर नेपाल सम्मेलनको उद्घाटन गर्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले औद्योगिक क्षेत्रले खोजेको जनशक्ति नपाइरहेको अवस्थामा युवा भने बेरोजगार रहेको अवस्था अन्त्य गर्न सम्मेलन आयोजना गरिएको बताए । उद्योगले दक्ष कामदार नपाउने र पाए पनि नटिक्ने चुनौती भोगिरहेको उनको भनाइ छ । अध्यक्ष राठीले उद्योगमा श्रमिक अभावको समस्या मात्र नभई यो दक्षता, कार्य संस्कृति, अवसर, सुरक्षा र विश्वाससँग जोडिएको विषय भएको उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले आर्थिक तथा औद्योगिक प्रतिस्पर्धामा सक्षम, दक्ष र उत्तरदायी मानव संसाधनको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले शिक्षा, सीप विकास र उद्योगबीचको समन्वयलाई सुदृढ गर्दै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको दूरी घटाएर व्यावहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले दक्ष जनशक्ति उत्पादनका लागि अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षाको समन्वय आवश्यक रहेको प्रस्ट्याए ।
पहिलो दिनको सम्मेलनमा गोर्खा ब्रुअरीका कल्चरल निर्देशक दीपेशमान श्रेष्ठ, ओ एन्ड जिसी मुम्बईका मानव संसाधन प्रमुख रुपनाकर मन्तालगायत विज्ञहरूले कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक, मानव संसाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक वर्ग र विकास साझेदार संस्थाका प्रतिनिधि गरी १५० जनाको सहभागिता रहेको छ ।





