सुकुम्बासीको डिजिटल लगत संकलन हुने, बायोमेट्रिकसहितको परिचयपत्र वितरण गरिने

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणले लगत संकलन गर्न लागेको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार यस क्रममा बायोमेट्रिकसहित व्यक्तिगत, पारिवारिक, आर्थिक, स्वास्थ्य र सीपसम्बन्धी विवरण संकलन गरिनेछ । सोही आधारमा परिचयपत्र वितरण गरिने छ भने राष्ट्रिय परिचयपत्र नभएकालाई होल्डिङ सेन्टरबाटै उपलब्ध गराइने भएको छ ।
संकलित विवरणका आधारमा सबैको बैंक खाता खोलेर सरकारी राहत, अनुदान तथा पुनर्स्थापना सहायता सिधै खातामा पठाउने व्यवस्था मिलाइने भएको छ । साथै, संकलित तथ्यांकलाई रोजगारी, उद्यमशीलता र सामाजिक सुरक्षाका कार्यक्रमसँग पनि जोडिने बताइएको छ । यो कार्य सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर ९१ अन्तर्गत हुन लागेको हो ।





