२६ बैशाख २०८३, शनिबार

पाँच लाखको पुरस्कार राशी, बाँके कला केन्द्रले गर्दैछ पहिलो मेयर सांस्कृतिक कप

नेपालगञ्ज । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने भव्य लक्ष्यका साथ बाँके कला केन्द्रले पहिलो पटक ‘मेयर सांस्कृतिक कप’ आयोजना गर्ने भएको छ। नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा हुन लागेको यो प्रतियोगिताले स्थानीय विद्यालयस्तरका विद्यार्थीहरूलाई एकै मञ्चमा उतार्ने भएको छ।

गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते आयोजना हुने यो कार्यक्रम सुनाखरी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा हुँदैछ। अन्तर माध्यमिक विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा बाँकेभरिका विद्यार्थीहरूले आफ्नो नृत्यकला देखाउने अवसर पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट तीन समूहलाई गरी करिब पाँच लाख बराबरको पुरस्कार राशीको व्यवस्था गरिएको छ। प्रथम हुनेले ५१ हजार, द्वितीयले ३१ हजार र तृतीयले २१ हजार नगदसहित आकर्षक ट्रफी र प्रमाणपत्र हात पार्नेछन्।

बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै कार्यक्रम संयोजक वीरेन्द्र यादवले मौलिकता र स्थानीय कलालाई प्राथमिकता दिँदै कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिए। उनले भने, “नेपालगञ्जको सांस्कृतिक क्षेत्रमा केही नयाँ गरौं भन्ने हाम्रो चाहना हो, यसले स्थानीय कलाकारहरूलाई भविष्यमा अघि बढ्ने आँट र प्लेटफर्म दिनेछ।”

कार्यक्रमको कुल बजेट तीन लाख ३० हजार रुपैयाँ अनुमान गरिएको छ। यसै क्रममा नेपालगन्जमै बसेर कलाकारितामा अतुलनीय योगदान दिने एक जना वरिष्ठ तथा अग्रज कलाकारलाई विशेष सम्मानसहित नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएका छन्।

प्रतियोगितामा सहभागिताका लागि सामुदायिक विद्यालयहरूले दुई हजार पाँच सय र संस्थागत विद्यालयहरूले तीन हजार पाँच सय रुपैयाँ दर्ता शुल्क तोकिएको बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए। मेयर सांस्कृतिक कपले नेपालगञ्जको सांस्कृतिक पहिचानलाई थप उजागर गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button