२६ बैशाख २०८३, शनिबार

कङ्गबा टिभीको रिपोर्ट: ग्रामीण शिक्षा र उद्यमशीलताको अनुपम गाथा

चीनको सरकारी सञ्चारमाध्यम कङ्गबा टिभी (Kangba TV) ले तिब्बत स्वायत्त क्षेत्रको चाम्दोस्थित गोजो गाउँको एउटा प्रेरणादायी कथा प्रकाशित गरेको छ। उक्त समाचारमा सामुदायिक सहयोग र शिक्षाप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको छ।

तिब्बतको पूर्वी सीमावर्ती उच्च पहाडी क्षेत्रमा अवस्थित साम्द्रुप गाउँमा ११२ घरधुरी र ७८४ जनसंख्या रहेको छ। सामान्य देखिने यस गाउँको विशेषता के हो भने, यहाँको सम्पूर्ण गाउँले ११३ जना विश्वविद्यालय स्नातकलाई शिक्षा दिलाएको छ। यो उपलब्धिले गोजो क्षेत्रमै यसलाई “स्नातकहरूको गाउँ”को उपमा दिलाएको छ।

कङ्गबा टिभीको रिपोर्टअनुसार, सन् २०२४ को सुरुवातमा गाउँको पहिलो पार्टी सचिव र कार्यदलको नेताको रूपमा खटिएर आएका झाङ सिङपिङले यो अद्वितीय उपलब्धि देखेर आश्चर्यचकित भएका थिए। उनले भने, “गोजो क्षेत्रका धेरै गाउँमा विश्वविद्यालय स्नातक थोरै भेटिन्थे, तर साम्द्रुप गाउँको सूचनापाटीमा देखिएका विश्वविद्यालय स्नातकहरूको सूची देख्दा म छक्क परें।”

गाउँको शैक्षिक क्रान्तिको सुरुवात न्यिमा तासी नामक एक युवकबाट भएको थियो। विगतमा काउन्टी स्तरीय माध्यमिक विद्यालयमा पढ्दापढ्दै परिवारको आर्थिक अवस्थाका कारण उनले पढाइ छोडेर घर फर्किनुप-यो। गाउँलेहरूको बारम्बारको आग्रह र सहयोगमा अन्ततः उनकी आमाको मन पग्लियो र बाबुले घरको सम्पत्ति बेचेर शिक्षा पूरा गराए। न्यिमा तासीले चाम्दो सहरको व्यावसायिक विद्यालयबाट अध्ययन पूरा गरेर विश्वविद्यालय प्रवेश परीक्षा उत्तीर्ण गरे र अन्ततः तिब्बत परम्परागत चिकित्सा विश्वविद्यालयबाट स्नातकोत्तर गरेर डाक्टर बने।

यो सफलताले गाउँको सोचमा ठूलो परिवर्तन ल्यायो। अहिले गाउँमा घरको भेडाबाख्रा कति छन् भन्ने होइन, कसको घरबाट कति स्नातक निस्के भन्ने विषय गर्वको कुरा बनेको छ। कङ्गबा टिभीका अनुसार हाल २६ जना स्नातकहरू गाउँ फर्किएर उद्यमशीलता अँगालेका छन्, जसमध्ये कोही गाउँको स्थानीय निकायमा कार्यरत छन्, कोही स्थानीय उद्योगको नेतृत्व गरिरहेका छन् र कोहीले उच्च पहाडी क्षेत्रका विशेष उत्पादनको बिक्री गरिरहेका छन्।

गाउँको आर्थिक अवस्था पनि बलियो बन्दै गएको छ। सन् २०२५ मा गाउँको सामूहिक अर्थतन्त्रले ५० लाख युआनको कूल आम्दानी ग-यो, जसको १५ प्रतिशत रकम गाउँ समितिले “साम्द्रुप गाउँ शिक्षा कल्याण कोष”मा छुट्टयाएर विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी र आर्थिक अभाव भएका परिवारलाई सहयोग गर्दै आएको छ।

कङ्गबा टिभीको यो समाचारले तिब्बती क्षेत्रको शिक्षा र सामाजिक विकासको वास्तविक तस्वीर प्रस्तुत गरेको छ। सन् २०१४ देखि नेपालमा प्रसारण सुरु भएको कङ्गबा टिभीले र सन् २०२५ सम्ममा आयोजना गरेको तेस्रो सर्कम-हिमालयन फोरम जस्ता गतिविधिले नेपालसहित दक्षिण एसियाली क्षेत्रमा चीनको सकारात्मक छवि प्रस्तुत गर्न योगदान पुर्याइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button