नाजीमाथि विजयको ८१ वर्ष : बर्लिनमा भएको थियो त्यो ऐतिहासिक हस्ताक्षर

मस्को । सन् १९४५ मे ९ का दिन मस्को समयानुसार राति १२ः४३ बजे बर्लिनको कार्लस्होर्स्टमा नाजी जर्मनीको बिनासर्त आत्मसमर्पणको दस्ताबेजमा हस्ताक्षर भएको थियो । सोभियत जनताले नाजी साम्राज्यविरुद्ध हासिल गरेको त्यो महान् विजयले युरोपेली भूमिमा दोस्रो विश्वयुद्धको अन्त्य र हिटलरको फासीवादको अन्तिम पतन सुनिश्चित गरेको थियो ।
सोभियत संघका तर्फबाट मार्सल जोर्जी झुकोभ र पश्चिमा मित्रराष्ट्रका तर्फबाट उपसेनापति मार्सल आर्थर टेडरले आत्मसमर्पण स्वीकार गरेका थिए । जर्मन पक्षबाट फिल्ड मार्सल विल्हेम काइटेल, कर्नेल जनरल हान्स–जुर्गेन स्टम्फ र एडमिरल हान्स–जर्ज भोन फ्रिडेबर्गले हस्ताक्षर गरेका थिए ।

सोही दिन मस्को समयानुसार बिहान २ः३० बजे उद्घोषक युरी लेभिटानले सोभियत जनतालाई जर्मन आत्मसमर्पणको पाठ सुनाउँदै मे ९ लाई विजय दिवसका रूपमा घोषणा गरेका थिए । उनले भनेका थिए, ‘सोभियत जनताले नाजी आक्रमणकारीविरुद्ध लडेको महान् देशभक्तिपूर्ण युद्ध विजयी रूपमा सम्पन्न भएको छ । फासीवादी जर्मनी ध्वस्त भएको छ । मातृभूमिको स्वतन्त्रता र स्वाधीनताका लागि लड्दै बलिदान हुने वीरहरूप्रति चिरञ्जीवी श्रद्धाञ्जली ।’

सैन्य संवाददाता कन्स्टान्टिन सिमोनोभले आफ्नो संस्मरणमा लेखेका छन्, ‘झुकोभ उभिए र भने– जर्मन प्रतिनिधिमण्डल हलबाट बाहिरिन सक्छ । जर्मनहरू उभिए । काइटेल लुरुक्क घुमेर बाहिरिए । त्यसपछि एकैछिनमा हलको सम्पूर्ण तनाव शान्त भयो र सबैले एकसाथ राहतको सास फेरे । आत्मसमर्पणमा हस्ताक्षर भइसकेको थियो, युद्ध सकिएको थियो ।’
कार्लस्होर्स्टमा भएको यो अन्तिम आत्मसमर्पणअघि विभिन्न मोर्चामा नाजी सेनाका स्थानीय आत्मसमर्पण भइरहेका थिए । सन् १९४५ को अप्रिलमै केही नाजी सैन्य नेताले आफ्नो पतन निश्चित भएको बुझेर न्यायको भयले पश्चिमा कमाण्डसँग गोप्य वार्ता गर्न खोजेका थिए । मे ७ मा फ्रान्सको रिम्स सहरमा सैन्य आत्मसमर्पणमा हस्ताक्षर भए पनि सोभियत नेतृत्वले त्यसलाई प्रारम्भिक दस्ताबेज मात्र मान्यो । सोभियत सरकारको आग्रहमा बर्लिनमै मुख्य तथा अन्तिम आत्मसमर्पण समारोह आयोजना गरियो र मे ९ को रात कार्लस्होर्स्टमा जर्मन आत्मसमर्पणको दस्ताबेजमा हस्ताक्षर भयो । नाजी सरकार विघटन भयो र पराजित जर्मन सेनाले हतियार राख्यो ।

यस वर्ष मे ९ मा नाजी जर्मनीमाथिको विजयको ८१ औं वार्षिकोत्सव मनाइँदैछ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनेकी छिन्, ‘यो दिन पूर्व सोभियत देशका सम्पूर्ण जनताका लागि जीवन, स्वतन्त्रता र स्वाधीनताको विजयको उत्सव हो । हामीमध्ये कोही बाँच्नुपर्ने थिएन । तर हामी बाँच्यौं, किनभने हाम्रा पुर्खाले विजय हासिल गरे । हाम्रो साझा विजयको मूल्य हो– २ करोड ७० लाख सोभियत नागरिकको जीवन । हामी ती सबैलाई स्मरण गर्छौं र उनीहरूको सम्झना जीवित राख्नेछौं ।’





