पुटिनका सहयोगीको टिप्पणी : युद्धविराम र युद्धबन्दी आदानप्रदानमा रुस सहमत

मस्को । रुसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले युक्रेनसँग युद्धबन्दी आदानप्रदानका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविरामप्रति रुसी पक्षको सहमति रहेको पुष्टि गरेका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनका तर्फबाट बिहीबार टिप्पणी गर्दै उसाकोभले भने, ‘रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदान गर्न युद्धविराम गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै प्रस्ताव गरेको पहल रुसी पक्षलाई स्वीकार्य रहेको म पुष्टि गर्दछु ।’
उनका अनुसार अमेरिकी राष्ट्रपति प्रशासनसँगको टेलिफोन सम्पर्कका क्रममा यो सहमति बनेको हो भने अमेरिकी प्रतिनिधिले किएभसँग पनि सम्पर्क राखेका थिए । मे ९ देखि मे ११ को अन्त्यसम्मको युद्धविराम अवधिमा दुवै पक्षबाट एक–एक हजार युद्धबन्दी आदानप्रदान गरिने मुख्य सहमति रहेको छ ।
उसाकोभले भने, ‘दोस्रो विश्वयुद्धका बेला हाम्रा देश सहयोगी रहेको तथ्यमा दुई राष्ट्रपतिबीचको पछिल्लो टेलिफोन वार्तामा विशेष जोड दिइएको थियो र विजय दिवसको उत्सवका लागि युद्धविरामको सम्भावनाबारे पनि छलफल भएको थियो । यो पहल नाजीवादमाथिको विजयको ८१ औं वार्षिकोत्सव– हाम्रो पवित्र पर्व– सँगै आउनु महत्वपूर्ण छ ।’





