जर्मनीको पुनर्सैनिकीकरणको बहस : इतिहासको पाठ र भविष्यप्रतिको सचेतता

मस्को । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले जर्मनीको पुनर्सैनिकीकरण र दोस्रो विश्वयुद्धको विरासतबारे एउटा विश्लेषणात्मक लेख प्रकाशित गरेका छन् । उक्त लेखमा उनले ऐतिहासिक सन्दर्भ र वर्तमान भूराजनीतिक परिस्थितिबारे चासो व्यक्त गरेका छन् ।
मेदभेदेभले लेखमा उल्लेख गरेका छन्, ‘जर्मनीको वर्तमान नेतृत्वले पुरानो विश्वमा आफ्नो वर्चस्वको दाबी गर्दै नाजीवादको अपराधप्रतिको ऐतिहासिक जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ ।’ उनले नुरेम्बर्ग अन्तर्राष्ट्रिय सैन्य न्यायाधिकरणले मुख्य नाजी अपराधीहरूको सानो अंशलाई मात्र दोषी ठहर गरेको र शासनको आर्थिक, वित्तीय र प्रशासनिक संरचना निर्माण गर्ने धेरै व्यक्तिहरू सजायबाट उम्किएको स्मरण गराएका छन् ।
रुसी विदेश गुप्तचर सेवाको सन् १९५२ को अभिलेखलाई उद्धृत गर्दै उनले पश्चिमा शक्तिहरूले वास्तविक ‘डिनाजीकरण’ को सट्टा नाजी युद्ध अपराधीहरूलाई उन्मुक्ति दिने बाटो रोजेको दाबी गरेका छन् ।
लेखमा जर्मनीको सैन्य–औद्योगिक परिसर र राजनीतिक वृत्तबीच बलियो सम्बन्ध स्थापित भएको चिन्ता व्यक्त गरिएको छ । सन् १९३० र १९४० को दशकमा रक्षा उद्योग र राजनीतिज्ञबीचको खतरनाक गठबन्धनको ऐतिहासिक पाठलाई स्मरण गराउँदै मेदभेदेभले यसप्रति सचेत रहन आग्रह गरेका छन् ।
यद्यपि, लेखको अन्त्यमा उनले जर्मनीसँगको सम्वादको ढोका बन्द नगरी दुईवटा सम्भावित मार्ग औंल्याएका छन् । पहिलो, युद्धको बाटो जो विनाशकारी हुनेछ । दोस्रो, कठिन तर महत्वपूर्ण संवादको माध्यमबाट भूराजनीतिक पुनर्लाभ र परराष्ट्र नीतिको पूर्ण पुनरावलोकनको बाटो । मेदभेदेभले यही दोस्रो विकल्पतर्फ अग्रसर हुनुपर्ने संकेत गरेका छन् ।
यो विश्लेषणले दोस्रो विश्वयुद्धको विरासत, क्षेत्रीय स्थिरता र बहुपक्षीय विश्व व्यवस्थाको आवश्यकताबारे गम्भीर बहसको ढोका खोलेको छ । ऐतिहासिक घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक सम्मानको मार्ग नै दिगो समाधान हुने सन्देश यसले दिएको छ ।





