२६ बैशाख २०८३, शनिबार

चीन–फ्रान्स सम्बन्ध थप सुदृढ बनाउने सहमति

बेइजिङ — चीन र फ्रान्सले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता तथा विकासका विषयमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंका कूटनीतिक सल्लाहकार इमानुएल बोनबीच शुक्रबार बेइजिङमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध, विश्व राजनीति तथा साझा चासोका विषयमा विस्तृत छलफल भएको हो।

चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा केन्द्रीय वैदेशिक मामिला आयोग कार्यालयका निर्देशक वाङ यीले चीन र फ्रान्स संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्र प्रभावशाली राष्ट्र भएकाले विश्व शान्ति र स्थायित्व जोगाउने साझा जिम्मेवारी रहेको बताए। उनले दुई देशका राष्ट्रप्रमुखबीचको रणनीतिक मार्गदर्शनले द्विपक्षीय सम्बन्धको विशेषता र उच्च स्तरलाई प्रतिबिम्बित गरेको उल्लेख गर्दै सहकार्यलाई अझ अघि बढाउन चीन तयार रहेको बताए।

वाङले फ्रान्सेली संसदले उपनिवेशकालमा लगिएका सांस्कृतिक सामग्री फिर्ता सहज बनाउने विधेयक पारित गरेकोप्रति चीनले सकारात्मक मूल्यांकन गरेको जनाउँदै यस क्षेत्रमा सहकार्य बढाएर सांस्कृतिक आदानप्रदान र सभ्यताबीचको आपसी सिकाइलाई प्रोत्साहन गर्न सकिने बताए।

विश्व परिवेशमा बढ्दो अस्थिरताका बीच दुवै देशबीच रणनीतिक संवाद र समन्वय अझ आवश्यक रहेको उल्लेख गर्दै उनले चीन–फ्रान्स व्यापक रणनीतिक साझेदारीलाई कुनै हस्तक्षेपबिना स्थिर र स्वस्थ रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

उनले चीन–फ्रान्स सम्बन्धको आधार राजनीतिक विश्वास र एकअर्काका मूल हितप्रतिको सम्मान भएको उल्लेख गर्दै फ्रान्सले व्यवहारमा ‘एक चीन नीति’ पालन गर्नुपर्ने, ताइवान प्रशासनसँग कुनै पनि प्रकारको आधिकारिक सम्पर्क नगर्नुपर्ने तथा ‘ताइवान स्वतन्त्रता’ पक्षधर शक्तिलाई गलत सन्देश नदिनुपर्ने अपेक्षा व्यक्त गरे।

वाङले चीन र युरोप सधैं साझेदार भएको उल्लेख गर्दै फ्रान्सले युरोपेली संघलाई चीनप्रति व्यवहारिक, खुला र सन्तुलित आर्थिक तथा व्यापारिक नीति अपनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

फ्रान्सेली राष्ट्रपति म्याक्रोंका कूटनीतिक सल्लाहकार बोनले दुई देशका राष्ट्रप्रमुखबीच लामो समयदेखिको विश्वासपूर्ण सम्बन्धलाई फ्रान्सले उच्च महत्व दिएको बताए। उनले ताइवान प्रश्नको संवेदनशीलता र महत्वबारे फ्रान्स पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै ‘एक चीन नीति’प्रतिको आफ्नो अडान नबदलिने स्पष्ट पारे।

बोनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा युरोप र चीनबीच संवाद तथा सहकार्य कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्वव्यापी संकट समाधानका लागि चीनसँग नजिकबाट सहकार्य गर्न फ्रान्स इच्छुक रहेको बताए। उनले युरोपेली संघलाई चीनसँग विश्वसनीय साझेदारका रूपमा सहकार्य गर्न आवश्यक रहेको जनाउँदै फ्रान्सले युरोप–चीन संवाद र सहकार्य प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने बताए।

वार्ताका क्रममा दुवै पक्षले विश्व आर्थिक सुशासन, मध्यपूर्वको अवस्था लगायत साझा चासोका अन्तर्राष्ट्रिय विषयमा पनि गहन विचार आदानप्रदान गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button