२६ बैशाख २०८३, शनिबार

टोकियो ट्रायल्सको ८० वर्ष : चिनियाँ अनुवादले उजागर गर्यो जापानी सैन्यवादका अनगिन्ती युद्ध अपराध

बेइजिङ । टोकियो युद्ध अपराध अदालत (टोकियो ट्रायल्स) सुरु भएको ८० वर्षपछि उक्त अदालतको कारबाहीको पूर्ण चिनियाँ अनुवाद प्रकाशनले जापानी सैन्यवादका अनगिन्ती युद्ध अपराधलाई पुनः सतहमा ल्याएको चीनले बताएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार नियमित पत्रकार सम्मेलनमा भने, ‘यी अभिलेख टोकियो ट्रायल्सका मूल दस्ताबेज हुन् । यसले दुई वर्षभन्दा लामो समयसम्म चलेको अदालतको सम्पूर्ण कारबाहीलाई अभिलेखीकरण गरेको छ ।’

उनका अनुसार अन्तर्राष्ट्रिय सैन्य न्यायाधिकरणले कूल ८१८ वटा सुनुवाइ गरेको, ४१९ साक्षीको बयान सुनेको, ४ हजार ३३६ वटा प्रमाण जाँच गरेको र झण्डै ५० हजार पृष्ठको अंग्रेजी अभिलेख तयार गरेको थियो । अदालतले एसियाली मुलुकमा जापानी सैन्यवादले गरेका युद्धकालीन अत्याचार उजागर गर्दै जापानले आक्रामक युद्ध छेडेको ठहर गरेको र फासीवादी युद्ध अपराधीलाई दोषी करार गरेको थियो ।

अभियोजक सटनको डायरीसमेत सार्वजनिक

यसैबीच, टोकियो ट्रायल्समा सहायक अभियोजकका रूपमा काम गरेका अमेरिकी वकिल डेभिड नेल्सन सटनको हाते डायरी भर्खरै सार्वजनिक भएको छ । पहिलोपटक सार्वजनिक गरिएको यो डायरी र चिनियाँ अनुवाद दुवैले जापानी सैन्यवादका अकाट्य युद्ध अपराधलाई उजागर गरेको प्रवक्ता लिनले बताए ।

उनले ८० वर्षपछि पनि जापानका दक्षिणपन्थी शक्तिले युद्धको इतिहासप्रति पश्चाताप नगरेको र आक्रमणको अपराध सफाइ दिन तथा विकृत ऐतिहासिक दृष्टिकोण फैलाउन सक्रिय रहेको बताए । केही जापानी राजनीतिज्ञले दोषी करार गरिएका ‘ए’ श्रेणीका युद्ध अपराधीको सम्मान गर्ने यासुकुनी मन्दिरमा पटकपटक भ्रमण गर्ने क्रम जारी रहेको पनि उनले औंल्याए ।

प्रवक्ता लिनले भने, ‘इतिहास र सत्य मेटाउन सकिन्न । सिद्धान्त र न्यायलाई धमिलो पार्न सकिन्न । युद्धोपरान्तको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिन सकिन्न ।’ उनले विश्वका कुनै पनि शान्तिप्रेमी जनताले युद्ध अपराधको फैसला उल्ट्याउन नदिने र जापानी नवसैन्यवादलाई अस्वीकार गर्न कहिल्यै नरोकिने बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button