पर्यटन व्यवसायीका लागि आठौं चिनियाँ भाषा कक्षा सोमबारदेखि, ८० जना सहभागी हुने

काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा पर्यटन व्यवसायीलाई लक्षित आठौं चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ । यसपटक ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारी सहभागी हुनेछन् ।
शुक्रबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइएको हो । बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा प्रशिक्षणले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गरे ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भएकाले चिनियाँ पर्यटकको प्रमुख गन्तव्य बनेको बताइन् । अप्रिल महिनामा मात्र ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको जानकारी दिँदै उनले यो कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्वपूर्ण माध्यम बनेको बताइन् ।
नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिशचन्द्र साहले सन् २०१६ मा सुरु भएको यो कार्यक्रमको आठौं संस्करणसम्म आइपुग्दा २८० भन्दा बढीले चिनियाँ भाषा प्रशिक्षण लिइसकेको जानकारी दिए । बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यसले पर्यटन जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे । कक्षा सोमबारदेखि बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ ।





