द्वन्द्वकालदेखि बन्द नरैनापुर भन्सार खुल्दै, व्यवसायी उत्साहित

नेपालगन्ज । द्वन्द्वकालमा असुरक्षाका कारण बन्द भएको बाँकेको नरैनापुर छोटी भन्सार पुनः सञ्चालनमा आउने भएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार यो भन्सार नेपालगन्ज भन्सार कार्यालयअन्तर्गत रहेर सञ्चालन हुनेछ र यसका लागि भौतिक पूर्वाधार निर्माण तथा कर्मचारी व्यवस्थापनको काम अघि बढाइनेछ।
निर्देशक बर्तौलाले यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्र रहने स्पष्ट पारे। भन्सार नियमावली २०८३ मा बाँकेको नरैनापुरमा पनि छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि स्थानीय व्यवसायी तथा व्यापारीहरू खुसी देखिएका छन्।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बाँकेमा सात वटा छोटी भन्सार रहेकोमा अन्य बन्द भइसकेको र अब नरैनापुरमा मात्र स्थापनाको तयारी भएको जानकारी दिए। “यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्र परेको छ, यो पनि भन्सार नियमावलीको अनुसूचीमा नाम उल्लेख भएको मात्र हो,” उनले भने। पौडेलले नरैनापुरबाट धेरै सामान नआउने भए पनि आलु, प्याज र केही पशु आउन सक्ने बताए। उनका अनुसार स्वीकृति पाएको एक साताभित्रै भन्सार सञ्चालनमा आउने छ।
यद्यपि, मुख्य भन्सारबाट सामान नल्याई छोटी भन्सार प्रयोग गर्ने प्रचलन रहेको भन्दै उनले सामान दुरुपयोगको जोखिम औंल्याए।
व्यवसायी उत्साहित
उद्योग वाणिज्य सङ्घ नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले छोटी भन्सार स्थापना हुनु व्यवसायीका लागि खुसीको विषय भएको बताए। उनले मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने र राजस्व सङ्कलनसँगै तस्करी नियन्त्रणमा पनि सहयोग पुग्ने दाबी गरे। “यसले वैधानिक व्यवसाय गर्नेका लागि सुखद अवस्था ल्याउँछ,” उनले भने।
सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने नरैनापुर छोटी भन्सार डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले यसले जमुनाहा नाकाको भीड घटाउने विश्वास व्यक्त गर्दै पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने बताए। “चोरी निकासी बन्द हुनुपर्छ, आसपासका स्थानीयले फाइदा लिन पाउनुपर्छ,” उनले भने।
सङ्घका अर्का पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जका व्यवसायीका लागि यो राम्रो अवसर भएको र अवैध व्यापार निरुत्साहित हुने बताए। तत्कालीन द्वन्द्वकालमा बाँकेका सातवटै छोटी भन्सार असुरक्षाका कारण बन्द भएका थिए।





